काठमाडौं, ३१ असार । भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिक जीवनमा तीन गल्ती गरेको बताएका छन् ।
भ्रमणको तेस्रो दिन विहीबार जनता दल यूनाइटेडका अध्यक्ष शरद यादवको निवासमा कांग्रेस आईलगायत सबै विपक्षी दलका नेताहरुसँग भएको छलफलमा प्रचण्डले आफ्ना तीन गल्तीको खुलासा गरेका छन् ।
जसमा उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु जीवनकै ठूलो गल्ती भएको बताएका हुन् । छलफलमा भारतीय नेताहरुले प्रचण्डलाई शान्तिपूर्ण राजनीतिमा आएपछिका तीन गल्ती के–के गर्नुभयो भनेर सोधेका थिए ।
भारतीय नेताहरुलाई जवाफ दिँदै प्रचण्डले पूर्वप्रधानमन्त्री कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो पहिलो गल्ती भएको बताएका थिए । यदि गिरिजालाई राष्ट्रपति बनाएको भए आफ्नै नेतृत्वमा संविधान जारी हुने र देशलाई यति लामो संक्रमणकालबाट गुज्रिनु नपर्ने प्रचण्डको धारणा थियो ।
त्यसैगरी अवकाश हुन लागेका तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई पदबाट हटाउनु दोस्रो गल्ती गरेको बताए । र अन्त्यमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर तेस्रो गल्ती गरेको प्रचण्डले बताए ।
छलफलमा कांग्रेस आईका कोषाध्यक्ष मोतीलाल बोहोरा, राज्यसभामा विपक्षी दलका नेता नवाफ अली आजाद, राष्ट्रवादी कांग्रेसका अध्यक्ष डीपी त्रिपाठी लगायतका नेताहरु सहभागी थिए ।













प्रतिक्रिया