काठमाडौं, ३१ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् ।
पाँच दिने भ्रमणका लागि मंगलबार भारत प्रस्थान गरेका प्रचण्ड अहिले भारतीय शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न बाँकी नै छ ।
बुधबार प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिवलाई भेटेका छन् । जानकारका अनुसार प्रचण्डलाई भारतले आफ्नो उद्देश्यका लागि बोलाएको भएपनि प्रचण्ड अर्कै उद्देश्य बोकेर गएका छन् ।
पहिलो संविधानसभाको चुनावमा प्रधानमन्त्रीमा सीमित भएका प्रचण्ड अहिले राष्ट्रपति बन्ने कसरतमा लागेको स्रोतको दाबी छ । उनी नेपालमा कार्यकारी राष्ट्रपति शासन लागू गर्न र आफू राष्ट्रपनि बन्न भारत गएको एमाओवादी स्रोतले बतायो ।
यद्यपी प्रचण्डले बेला बेला आफू राष्ट्रपनि हुन नचाहेको बताउँदै आएका छन् । ‘यसअघि नेपालका नेताहरु पनि पदीय आशीर्वाद लिन दिल्ली जाने गरेको सुनिन्थ्यो । त्यही क्रममा प्रचण्ड कमरेड पनि भारत गएको बुझिन आएको छ ।’ एमाओवादीका एक नेताले भने । केही कार्यकर्ताले त एयरपोर्टमा ‘राष्ट्रपति कमरेड प्रचण्ड’ को संज्ञा दिँदै नारावाजी समेत गरे ।
अब केही समयमै अहिलेका राष्ट्रपति रामवरण यादव घर जाने अवस्थामा प्रचण्ड दिल्ली भ्रमणमा जानु र कार्यकर्ताले राष्ट्रपति भन्नु संयोग मात्रै हो या बास्तविकता लुकेको छ ? त्यो त समयले नै बताउला । तर, प्रचण्ड कार्यकारी प्रमुख राष्ट्रपति हुने गरी कांग्रेस र एमालेलाई बाध्य पार्न चाहन्छन् । सोही रणनिती अन्तर्गत दिल्लीलाई खुसी बनाएर कार्यकारी प्रमुखसहितको शासकिय स्वरुपमा कांग्रेस-एमालेलाई सहमत गराएमा प्रचण्डको राष्ट्रपति बन्ने सपना चाँडै पुरा हुने देखिएको स्रोतको दाबी छ ।













प्रतिक्रिया