काठमाडौँ, १८ असार । संविधानसभा, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मका नाममा आजको संविधानसभाको बैठकमा गरेको अवरोधलाई अराजनीतिक कदमको संज्ञा दिनुभएको छ ।
संविधानसभाको बैठकपछि संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मस्यौदा समितिले गरेको प्रस्तावमा धर्मनिरपेक्ष राष्ट्र हुने र सबैलाई आआफ्नो धर्म मान्ने स्वतन्त्रता रहेको उल्लेख गरिएको जानकारी दिनुभयो । जबर्जस्ती धर्म परिवर्तनलाई दण्डनीय अपराधमा राखिएको उल्लेख गर्दै उहाँले धर्म मान्ने स्वतन्त्रता भए पनि धर्म परिवर्तनको विषयलाई गम्भीर रुपमा लिएर सबै दलको सहमतिमा मस्यौदा गरिएको भनाइ राख्नुभयो ।
जनताले विगतमा नै हिन्दू राज्यको विषयलाई पन्छाइदिएको र सबै धर्मलाई समान रुपमा लिने व्यवस्थाको सुरुआत भएको हो भन्दै उहाँले अगाडि बढिसकेको इतिहासको चक्का पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभयो ।
मस्यौदा समितिले पेस गरेको प्रस्तावमा आफूहरुले राखेको धारणा नसमेटिएको भन्दै राप्रपा नेपालले संविधानसभाको बैठक मात्रै अवरोध नगरी प्रधानमन्त्री बस्ने कुर्सीमा चढेर विरोध जनाएको र प्रधानमन्त्रीको माइक बिगारेको छ ।
संविधानसभाको बैठकमा नै नेकपा(एमाले)का भानुभक्त ढकाल, नेपाली काँग्रेसका धनराज गुरुङ र एकीकृत नेकपा(माओवादी)का गिरिराजमणि पोखरेलले सो काम अतिवादी क्रियाकलाप भन्दै विरोध गर्नुभएको थियो ।
सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने सभाध्यक्ष सुवास नेम्वाङले जबर्जस्ती बैठक राख्न खोजेका कारण प्रतिरोध गरिएको बताउँदै भन्नुभयो, “एउटा दलले विरोध गर्दा दुई दिनसम्म संविधानसभाको बैठक नराख्ने सभाध्यक्षले आज हामीलाई पेल्न खोजे, त्यसकारण आज विरोध जनायाँै ।”
बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान भने राप्रपा नेपालले विरोध गरिरहँदा सभाध्यक्षको आसन अगाडि पलेंटी कसेर बस्नुभएको थियो । रासस













प्रतिक्रिया