काठमाडौँ, १८ असार । एकीकृत नेकपा(माओवादी)को संसदीय दलको बैठकमा सभासद्हरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा सभासद्हरुले विगतको सहमति र सम्झौता विपरीत सत्तारुढ दलसँग सहमति गरेको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।
संविधान लेखन प्रक्रिया विगतको सहमति, सम्झौता तथा शान्ति सम्झौताको प्रमुख अङ्ग भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । यस्तै, प्रमुख दलबीच भएको १६ बुँदे सहमतिको समेत बैठकमा आलोचना भएको थियो ।
एमाओवादीका सभासदहरुले पार्टी आफ्नो एजेण्डामा नहिँडे पार्टीमा बस्नुको औचित्य नभएको पनि बताएका थिए । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एजेण्डा विर्सिए पार्टी छाड्ने चेतावनी घुमाउरो भाषामा दिएका थिए ।
सभासदको प्रश्नको जवाफ दिँदै प्रचण्डले विगतका उपलब्धिसमेत गुम्ने खतरा बढेकाले आफूहरु सम्झौता गर्न बाध्य भएको बताउनुभएको थियो । विगतका सहमतिको आधारमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै भावी सङ्घर्षका लागि तयार रहने ध्येयका साथ सम्झौता गरिएको जानकारी गराउँदै उहाँले विगतका सबै उपलब्धि गुम्यो र सम्झौता मात्रै भयो भन्ने ढङ्गले नसोच्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया