काठमाडौँ, १४ असार । संविधानसभाको बैठक राति ९ बजेका लागि तय गरिएको छ ।
संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवाद समाधान गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।
संविधानसभाको बैठक यसअघि आज अपराह्न ३ बजेका लागि तय गरिएकामा मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः ७ बजेका लागि निर्धारण गरिएको थियो ।
आज बिहान ११ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भए पनि केही संवैधानिक भाषामा सहमति हुन नसकेपछि हालसम्म प्रतिवेदन बुझाइएको छैन ।
समितिले पारित गरेको मस्यौदाका केही शब्दावलीमा एकीकृत नेकपा माओवादी र मधेसकेन्द्रित् दलका सभासद्ले असहमति प्रकट गरेपछि छलफलको समय लम्बिएको हो ।
समितिले तयार पारेको प्रतिवेदनमा रहेका विवादित शब्द मिलाउन प्रमुख दलका शीर्ष नेताका साथैे दोस्रो तहका नेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् । सभासद् भने बैठकको पर्खाइमा संविधानसभा भवन नयाँ बानेश्वरमा छन् ।
दलबीच बहुलवाद, धार्मिक स्वतन्त्रता । धर्मनिरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा बढी विवाद रहेको बुझिएको छ । विवादित विषयमा सहमति जुटाउनका लागि अहिले सिंहदरबारमा प्रमुख दलको दोस्रो तहका नेता सक्रिय रुपमा लाग्नुभएको छ ।













प्रतिक्रिया