३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानमा गर्मीबाट करिब सात सयको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loo-indiaइस्लामाबाद, ९ असार । सामुद्रिक किनारमा अवस्थित पाकिस्तानी एक सहर कराचीमा तीन दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब ७०० पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यहाँको अस्पतालमा आपत्काल घोषणा भएको र स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा कार्यरत रहेका जनाइएको छ ।

कराचीको प्रान्तीय राजधानीमा अवस्थित एक प्रमुख अस्पतालमा तातोहावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको र त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सक सेमी जमालीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रुपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ । कराची सहरको करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले यस घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा सरिफले उपचारार्थ अस्पताल भर्ना भएका व्यक्तिहरूका लागि सक्दो राम्रो उपचारका लागि पनि आदेश दिनुभएको जनाइएको थियो ।

पाकिस्तानको मानवअधिकार नियोगले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जनाएको छ ।

यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् ।

केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी