काठमाडौं, ८ असार । गरिब, दुःखी र असहायको सहाराको रुपमा विश्वमा प्रसिद्ध रहेकी नारी मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको मङ्गलबार निधन भएको छ ।
भारतको कोलकातास्थित मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी निर्मलाको ८१ वर्षको उमेरमा मङ्गलबार निधन भएको पूर्वी भारतीय नगर कोलकाता मिसनले जनाएको छ ।
उहाँ मुटुको रोगले थलिनुभएको थियो । केही समययतादेखि उहाँ विरामी हुनुहुन्थ्यो । कोलकाताको च्यारिटी होमका पादरी थोमस डि सोउजाले सिस्टर निर्मलाको निधन भएको जानकारी आज दिनुभएको छ ।
उहाँले भन्नुभयो– सिस्टर निर्मला केही समयमात्र यतादेखि मुटुको रोगले थलिनुभएको थियो, तर उहाँ बिरामी नै भए पनि कहिल्यै हाँस्न छोड्नुभएन, मुस्कुराएरै जानुभयो ।
उहाँको स्वास्थ्य लाभको कामनाका लागि ठूलो सङ्ख्यामा उहाँलाई घेरेर रहेका दिदी बहिनीहरुकै माझ उहाँको निधन भयो– पादरी डिसोउजाले बताउनुभयो ।
उहाँको सामान्य जीवनयापनका साथै गरिबहरुको सहायताका लागि जीवन अर्पण गर्ने प्रतिबद्धता र सरल व्यवहारका कारण मदर टेरेसोको उत्तराधिकारीका रुपमा चयन हुनुभएको थियो ।
कोलकातामा मदर टेरेसाले स्थापना गरेको सो च्यारिटीमा निर्मला प्रमुख हुनुहुन्थ्यो । सन् १९९७ को सेप्टेम्बरमा मदर टेरेसाको निधन हुनुभन्दा करिब छ महिनामात्र अगाडि उहाँलाई आफ्नो उत्तराधिकारीका रुपमा मदर टेरेसाले नै चयन गर्नुभएको हो ।
उहाँको स्वास्थ्यका कारण उक्त मिसनको प्रमुखबाट सन् २००९ मा छोड्नुभन्दा पहिला करिब १२ वर्षसम्म उहाँले मदर टेरेसाको उत्तराधिकारीको रुपमा कोलकाताका गरिब, बिरामीहरुको सेवामा रहनुभएको थियो ।
उहाँको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि अर्पण गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले भन्नुभएको छ– उहाँ सुरुमा हिन्दू परिवारमा जन्मिएपनि पछि रोमन क्याथोलिक बन्नुभएको थियो ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जलि दिनका लागि कोलकातामा सयौँ व्यक्ति उपस्थित भएका छन् । रासस/एएफपी















प्रतिक्रिया