३० आश्विन २०८३, शुक्रबार

सावधान ! रक्सी पिउँदा होस् गरौं, मुम्बईमा रक्सी पिएका ७४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madira-Raksiमुम्बई, ५ असार । भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको सङ्ख्या शनिबार ७४ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ ।

भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनन्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको सङ्ख्या शुक्रबार ५३ पुगेकोमा शनिबार बढेको जानकारी दिनुभयो ।

उहाँले यसरी मर्ने व्यक्तिको सङ्ख्या ७४ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले मर्नेको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गर्नुभयो ।

गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन् । शनिबार पनि यस्ता विरामी अस्पतालमा भर्ना भइरहेको प्रहरी उपआयुक्तले बताउनुभयो ।

नगरको उत्तरी भागमा अवस्थित मालाड वेस्टमा रहेको गरिब वस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ ।

आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापर्वाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिइएको छ ।

ती मदिरामा अधिक मात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ ।

सन् २००४ मा पनि मुम्बईमा यस्तै प्रकारको घटना भएको थियो र त्यस समयमा करिब १०० व्यक्तिको मृत्यु भएको बताइएको छ ।

जनवरी महिनामा उत्तर प्रदेशको लखनऊ नगरमा यस्तै गैरकानुनी रूपमा उत्पादन भएको मदिरा सेवन गरी ३१ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१३ को अक्टोबरमा उत्तर प्रदेशमा यस्तै मदिरा सेवन गरी तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएपछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो ।

सन् २०११ मा पश्चिम बङ्गालमा यस्तै मदिरा सेवन गरी १७० व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी