काठमाडौं, ५ असार । नेपालका भूकम्पपीडितहरुको अवस्थाका बारेमा बुझेर सहयोगको योजना बनाउन अन्तराष्ट्रिय जेसिजका अध्यक्ष र उपाध्यक्ष नेपाल भ्रमणमा आउनु भएको छ ।
अध्यक्ष स्माईल हजेण्डेर शुक्रबार नेपाल आईपुग्नु भएको हो भने उपाध्यक्ष अनुप भेट्टीयाटेल विहीबारमात्रै नेपाल आउनु भएको हो । अध्यक्ष स्माईल टर्कीका र उपाध्यक्ष अनुप भारतका नागरिक हुनुहुन्छ ।
दुवै जनाले नेपाल जेसिजको केन्द्रिय कार्यालयमा जेसीहरुसँग अन्तरक्रिया गर्नु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्ष स्माईलले नेपालका युवाहरुले भूकम्पको बेलामा गरेको उद्धार र राहतका काम निकै प्रशंसनीय रहेको बताउनुभयो । आफूले अन्य देशका युवाहरुसंग पनि नेपालका युवाहरुले गरेको योगदानको चर्चा गर्ने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालका जेसिजकर्मीहरुले अन्तराष्ट्रिय जेसिजबाट नेपालको पुनर्निर्माणका लागि विषेश प्याकेज घोषणा गर्न आग्रह गरेका थिए ।
जवाफमा अन्तराष्ट्रिय अध्यक्ष स्माईलले नेपालका लागि झण्डै एक करोड रुपैयाँ बरावरको सहयोग आउन लागेको जानकारी दिनु भएको नेपालका राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष र उपाध्यक्ष दुवैले काठमाण्डौको बसन्तपुर, साँखु तथा भक्तपुरका विभिन्न ठाउमा स्थलगत अवलोकन गरेका थिए ।
उहाँहरु दुवै जना आईतवार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाल जेसिजका महासचिव जगतवहादुर पोख्रेलले जानकारी दिनुभयो । युवाहरु मात्रै आवद्ध हुन पाउने जेसिजको एक सय ६२ देशमा राष्ट्रिय समिति रहेको छ । नेपालमा भने ५१ बर्ष अगाडि गठन गरिएको हो ।
















प्रतिक्रिया