६ कार्तिक २०८३, शुक्रबार

मामा नै दलाल भएपछि………

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human trafficking

– कुमार चौलागाई
काठमाडौँ, ५ असार । सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए ।

घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए ।

काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।

उहाँले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पु¥याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिनुभयो ।

विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।

युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पु¥याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५÷२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।

काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयम दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा सञ्चारकर्मीसँग भनिन्, “भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।”

उनले भनिन्, “मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।”

किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए ।

उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताउनुभयो ।

कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन । रासस