काठमाडौँ, ४ असार । भूकम्प र त्यसपछिको परकम्पका कारण बन्द गरिएको काठमाडौँ जिल्ला अदालतको सन्ध्याकालीन इजलास अझै खुल्न सकेको छैन ।
पराकम्प शून्यको स्थितिमा पुगेपछि पुनः सो इजलास सञ्चालनमा ल्याइने आज यहाँ आयोजित अन्तक्र्रियामा जानकारी दिइयो । गत मङ्सिर ७ गतेदेखि सो इजलास सञ्चालनमा ल्याइएको थियो ।
अदालतमा गत साउनदेखि हालसम्म १६ हजार ५१२ मुद्दा दायर भएकामा नौ हजार ३४४ मुद्दाको फैसला भएको र सात हजार १६८ मुद्दा फैसला हुन बाँकी रहेको श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले बताउनुभयो ।
उहाँले चालु आवमा रु. ६२ करोड ८६ लाख २८ हजार ९८३ जरिवाना असुल भएको, २१५ वर्ष सात महिना २१ दिन कैद असुली भएको, मेलमिलापका लागि पठाइएका ३५० मुद्दामध्ये ७८ वटाको मेलमिलाप गराइएको र एक हजार ३०३ थुनुवा मुद्दामध्ये ७४३ मुद्दा छिनिएको जानकारी दिनुभयो ।
अन्तक्र्रियामा मुख्य न्यायाधीश अच्युत विष्ट तथा न्यायाधीशद्वय अच्युत भण्डारी र विदुर कोइरालाले सो अदालतलाई कागजरहित अदालत बनाउने प्रयत्न गर्दै आएको, बेन्च र बारबीचका सम्बन्धमा तिक्तता आउन नदिन कार्यक्रम गरिएको, स्थानीय निकायका सचिवलाई मुद्दामा स्वच्छ सुनुवाइका निमित्त जानकारी गराइएको, मुद्दा चलाउने निकायबीच पनि संवाद गरिएको र पत्रकारमार्फत जनतालाई सुसुचित गराउने काम गरिएको बताउनुभयो । रासस
















प्रतिक्रिया