काठमाडौं, ४ असार । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो साढे १२ बजे विसं २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो साढे १२ बजे सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ४७ दशमलव ४३ प्रशित विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।
यस वर्षको परीक्षामा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा SLC <space> सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् ।
टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np, शिक्षा विभागको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np, नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।















प्रतिक्रिया