काठमाडौँ, ३ असार । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति र हिमालयन टेलिभिजन प्रतिष्ठान शाखाले पाँचसूत्रीय माग राखी सुरू गरेको आन्दोलन व्यवस्थापन पक्षसँग पाँचसूत्रीय सहमतिसहित आज निष्कर्षमा पुगेको छ ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, हिमालयन टेलिभिजन प्रालिका कार्यकारी निर्देशक च्याङ अग्रवाल र हिमालयन टेलिभिजन शाखा अध्यक्ष वाइपी घिमिरेले पाँचसूत्रीय सहमतिपत्रमा हस्ताक्षर गरेपछि महासङ्घले तीन दिनदेखि जारी धर्नासहितको आन्दोलनको कार्यक्रम पनि स्थगित गरेको छ ।
सहमतिमा हिमालयन टेलिभिजनमा उपत्यका र उपत्यका बाहिर कार्यरत सबै श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको गत चैतसम्मको बक्यौता पारिश्रमिक सहमति भएकै दिन आजै बैंकमार्फत भुक्तानी गर्ने र बाँकी दुई महिनाको असार १० गतेभित्र भुक्तानी गर्नुका साथै अबदेखि नियमितरूपमा मासिक पारिश्रमिक भुक्तानी गर्ने सहमतिपत्रमा उल्लेख छ ।
त्यसैगरी श्रमजिवी पत्रकार ऐनबमोजिम तोकिएको न्युनतम पारिश्रमिक सबै पत्रकारले प्राप्त गरिरहेको व्यवस्थापन पक्षबाट जानकारी भएको र नियमावली पनि जारी भइसकेकाले श्रमजीवी पत्रकार ऐन, नियम र नियमावलीका कार्यान्वयन गर्न बाँकी रहेका अन्य व्यवस्था आगामी असारभित्र कार्यान्वयन गर्नेगरी सहमति भएको महासङ्ले जनाएको छ ।
यस्तै कार्यस्थलमा पत्रकार, कर्मचारी र कामदारको भौतिक सुरक्षाका साथै लैंगिकमैत्री तथा उचित कार्य वातावरणका लागि व्यवस्थापन पक्षले आवश्यक थप गृहकार्य गरी ग्यारेन्टी गर्ने सहमति पनि भएको छ ।
सहमतिपछि महासङ्घका अध्यक्ष विष्टले आन्दोलनमा सहभागिता र ऐक्यबद्धता जनाउने सबै प्रतिष्ठान शाखाका नेतृत्व र सञ्चार सम्बद्ध सबै सङ्घसंस्थालगायत सबै पत्रकार र सहमतिमा आउने हिमालयन व्यवस्थापन पक्षलाई धन्यवाद दिदै सहमति यथावत रूपमा कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

















प्रतिक्रिया