काठमाडौं, ३ असार । भारत र चीनबीच सम्पन्न विवादास्पद व्यापारिक सम्झौताको विरुद्धमा अनेरास्ववियु गण्डकीले बिहिबारदेखि पोखराका विभिन्न कलेजहरुमा हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा आयोजित विशेष कार्यक्रमका बीच यो कार्यक्रमको उद्घाटन नेकपा एमाले, कास्कीका विद्यार्थी ईञ्चार्ज मनकुमार श्रेष्ठ र जन साहित्यिक मञ्च केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज सुवास मल्लले संयुक्त रुपमा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकीका सह ईञ्चार्ज नरेश रोकायाले अनेरास्ववियुले आफ्नो भूमिका कसैले गिद्दे दृष्टी लगाएको कहिल्यै नसहेको र अब पनि सहने प्रश्नै नउठ्नेमा जोड दिए । उनले यो अभियान पोखराबाट शुरु भएर गण्डकी अञ्चल भर नै जारी रहने र संकलित हस्ताक्षरहरु सरकारलाई बुझाइने समेत बताए ।
पृथ्वी नारायण क्याम्पसमा हस्ताक्षर गर्न विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सर्वसाधारणको भीड नै लागिरहेको छ । यस बाहेक पोखरामा रहेका ईञ्जीनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, पोखरा ईञ्जीनियरिङ्ग क्याम्पस लगायतका कलेजहरुमा पनि यो अभियान बिहिबारबाट नै सञ्चालन हुने रोकायाले बताए ।
















प्रतिक्रिया