काठमाडौं, २ असार । राष्ट्रपति डा रामवरण यादव अहिले तराईका विभिन्न जिल्लामा नदी कटान नियन्त्रण तथा स्थानीय पर्यावरण संरक्षणको अवस्था बारे अवलोकन तथा निरीक्षण गरिरहेका छन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत राजनीतिक दलका नेता तथा सरकार मन्त्री कर्मचारीसहितको जम्बो टोली लिएर राष्ट्रपति यादव बुधबार तराईका धनुषा र महोत्तरीका विभिन्न भाग भएर बग्ने रातु र जलाद नदीमा निर्मित तटबन्धको निरीक्षण गर्न पुगेका छन् ।
जम्बो टोलीमा राष्ट्रपति यादवका साथ वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, प्रधानसेनापति गौरवशम्शेर जबरा, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेल, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिका संयोजक रामेश्वरप्रसाद खनाल र जल उत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार श्रीवास्तव लगायत छन ।
यसैबीच राष्ट्रपति यादवले नदी कटान नियन्त्रण तथा स्थानीय पर्यावरण संरक्षणमा सरकारको मात्र नभएर स्थानीय जनताको पनि उत्तिकै सहयोग अपरिहार्य रहेको बताएका छन् ।
‘नदी कटान नियन्त्रणका निम्ति राज्यद्वारा सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउन तथा त्यसको सफलताका निम्ति हरदम सहयोग गर्न मेरो आग्रह छ”– तटबन्ध निर्माणका कामको प्रशंसा गर्दै राष्ट्रपति यादवले भने ।












प्रतिक्रिया