धुलिखेल, १ असार । विनाशकारी भूकम्पले विभिन्न गाउँमा पहिरोको जोखिम बढाएपछि काभ्रेका विभिन्न ठाउँमा भूगर्भविद्ले अनुगमन गरेका छन् ।
क्षेत्र नं १ का सभासद् तीर्थ लामा, भूगर्भविद् सुस्मिता भण्डारी, धर्म भण्डारी, भूसंरक्षण कार्यालय काभ्रेका प्रमुख राजेन्द्र साहलगायत इन्जिनियरको टोलीले काभ्रेको तिमाल र कोसीपारि पर्ने बोल्दे, नारायणस्थान माझीफेदा, धुसेनी शिवालय, पोखरी चौरी, कात्तिके देउराली, मादन कुँडारी, गोठपानी र बिर्ता देउरालीमा अनुगमन गरेको हो ।
अनुगमन टोलीले एक हप्ताभित्र बस्न हुने र नहुने प्रतिवेदन तयार गरेपछि बस्ती सार्ने/नसार्नेबारे निर्णय हुने सभासद् लामाले जानकारी दिनुभयो । काभ्रेको अतिविकट नाग्रे गगर्चेको दुतिमा यसअघि गएको पहिरो र भूकम्पपछि गएको पहिरोले केही परिवार विस्थापित भइसकेका छन् । काभ्रेकै चण्डेनी मण्डन, कोसीपारिकै भुम्लुटार, कोलाती, सल्ले, चौवास, फलाटेँ, देउपुर, तिमाल क्षेत्रमा पर्ने मेच्छे, डाँडापारिका फलामेटार बूढाखानीलगायतका गाविस पहिरोको उच्च जोखिममा छन् ।
डाँडापारिकै च्याम्राङबेँसीका स्थानीय जनता भने सरकारको भर नपरी सुरक्षित ठाउँमा बसाइँ सर्न थालेका छन् । उनीहरु बनेपा, पनौती खोपासीलगायतका स्थानमा बसाइँ सर्न थालिसकेका छन् । चाँडै नै पहिरोको जोखिम रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भए पनि भूगर्भको अनुगमनपछि मात्रै यो कामको थालनी गरिने प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया