६ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुका वन रेन्जरलाई भारतीय एसएसबीले दिए ज्यान मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssb
फाइल तस्वीर

तौलिहवा (कपिलवस्तु), ३२ जेठ । कपिलवस्तुस्थित नेपाली भू–भागमा पर्ने गुगौली गाविस–३ वीरनगर भाठामा वन कार्यालयद्वारा सुरु गरिएको तारबार गर्ने कार्यलाई भारतीय एसएसबीले जबर्जस्ती रोकेको छ ।

अतिक्रमित जग्गा खाली गराई गत जेठ २६ गतेदेखि सुरु गरिएको कार्य भारतीय एसएसबीको अवरोधका कारण शनिबारदेखि रोकिएको हो । गौतमबुद्ध साझेदारी वनको अगुवाइमा ९ दशमलव ८ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइएको थियो । त्यहाँ वृक्षरोपण गर्ने योजना रहेको छ ।

नेपाल र भारतको सीमा अर्रा नदीलाई मानिँदै आएको कपिलवस्तु वन कार्यालयले जनाएको छ । अर्रा नदीको पूर्व नेपाली भू–भाग र पश्चिम भारतीय क्षेत्र निर्धारण गरिएको छ तर एसएसबीले सो क्षेत्र विवादित भन्दै तत्कालै काम रोक्न निर्देशन दिएको रेन्जर रवीन्द्रनाथ खनालले बताउनुभयो ।

भारतको बलरामपुर जिल्ला छोटकी भुकुरुवाबाट आएका एसएसबीले काम अघि बढाइए उचित नहुने भन्दै धम्की दिएपछि बाध्य भएर आफूहरुले काम रोक्नुपरेको खनालले गुनासो गर्नुभयो । “हामीले तारबारका लागि खम्बा गाड्ने काम गरिरहेका थियौँ, त्यही बेला एक्कासि भारतीय एसएसबी आएर तत्कालै काम रोक नत्र ठीक हुने छैन भने,” उहाँले भन्नुभयो ।

वन कार्यालयको स्वीकृत कार्यक्रम र कार्यादेशअनुसार नै गौतमबुद्ध साझेदारीको अगुवाइमा काम थालिएको थियो । “दुई सय २४ वटा खम्बासमेत गाडिइसकेका थियौँ, काम अघि बढाइरहेको बेला जबर्जस्ती भारतीय एसएसबीले काम रोकिदिए,” गौतमबुद्ध साझेदारीका अध्यक्ष जानकारी यादवले भन्नुभयोे – “नेपाली भू–भागमा काम रोक्ने उनीहरुलाई कुनै अधिकार छैन, तर उनीहरुको दादागिरीले काम गर्ने स्थिति नै छैन ।”

यो विवादित जमिन हो, संयुक्त सर्भे नगरी काम अघि नबढाउनू भनेर धम्की दिएकाले यस्तोमा आफ्नो ज्यानै जोखिममा हालेर काम गर्न नसकिने उहाँले दुःखेसो पोख्नुभयो ।

यसअघि पनि अतिक्रमण हटाउँदासमेत एसएसबीले आफूहरुलाई काममा अवरोध गरेको उहाँले बताउनुभयो । यता वन कार्यालयका प्रमुख राकेश कर्णले रेन्जर खनालले भारतीय एसएसबीले काममा अवरोध गरेको भन्दै कार्यालयमा लिखित जानकारी गराएको बताउनुभयो ।

आफूले सो क्षेत्रको पटक–पटक अनुगमन गरेको र सो क्षेत्र स्पष्टरुपमा नेपालमै परे पनि भारतीय पक्षद्वारा कामका अवरोध आउनु दुःखद् कुरा भएको उहाँले बताउनुभयो । आफूले घटनाबारे स्थानीय प्रशासन, वन विभाग र मन्त्रालयमा समेत जानकारी गराएको बताउनुभयो ।

सो क्षेत्रको स्थलगत अनुगमन गरेका इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ उपाध्यायले सो क्षेत्र नेपालमै पर्ने स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “अर्रा नदीको पूर्व नेपाल र पश्चिमतर्फको क्षेत्र भारतीय हो, यस्तोमा भारतीय पक्षले काम रोक्नु कुनै तुक छैन । ”

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भारतीय पक्षले काम रोकेको आफूलाई वन कार्यालयमार्फत जानकारी आएको बताउनुभयो । त्यस विषयमा आफूले समेत माथिल्लो निकायमा जानकारी गराएको भन्दै भारतको बलरमवापुरका डिएमसँग सम्पर्क गर्ने उहाँले बताउनुभयो । रोकिएको काम अघि बढाउन आफू प्रयासरत रहेको उहाँको भनाइ छ । रासस