काठमाडौँ, ३१ जेठ । निजी विद्यालय भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्कवृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न तयार भएपछि १३ विद्यार्थी सङ्ठनले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
शिक्षा मन्त्रालयले निजी (संस्थागत) विद्यालयले गत वैशाख महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन सहमत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता गर्न आग्रह गरेको थियो ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सरकरको आग्रह र निजी विद्यालय सञ्चालकको प्रतिबद्धतापछि हाललाई आन्दोलनका कार्यक्रम फिर्ता लिइएको राससलाई बताउनुभयो ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले पनि संयुक्त बैठक गर्न बाँकी रहे पनि सरकारले छुट भएको शुल्क नलिने सहमतिको कार्यान्वयनको जिम्मा लिने भएमा आन्दोलन स्वतः फिर्ता हुने बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन लक्षबहादुर केसीले निजी विद्यालय पनि पीडित भएकाले अभिभावकलाई सहुलियत दिन वैशाख महिलनाको मासिक शुल्क बराबरको छुट दिन आफूहरू सहमत भएको राससलाई बताउनुभयो ।
गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिक सत्रमा गरिएको शुल्कवृद्धि स्थगन गरी प्राविधिक अध्ययनपछि बढी देखिएमा फिर्ता गर्ने सहमति भएको थियो । उक्त सहमतिमा निजी विद्यालय सञ्चालकले हस्ताक्षर गरेका थिएनन् ।
विभिन्न १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता र भूकम्पका कारण बन्द भएको एक महिना अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग गर्दै आजै प्रधानमन्त्री सुशील कोइरालासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
शिक्षा मन्त्राललयका प्रवक्ता हरि लम्सालले मासिक शुल्कमा पचास प्रतिशत छुट दिन निजी विद्यालय सहमत भएकाले शिक्षा क्षेत्रलाई प्रभावित पार्ने गरी कुनै आन्दोलनका फिर्ता गर्न आग्रह गरिएको जानकारी दिनुभयो । निजी विद्यालयले बिदा अवधिको छात्रावास र यातायत शुल्क नलिने यसअघि घोषणा गरेका थिए ।
भूकम्प प्रभावितलाई निजी शिक्षालयबाट पनि सहयोग हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले बिदाको अवधिको पठनपाठनलाई वार्षिक समयसारिणीमा समायोजन गर्न सबै विद्यालयलाई आग्रह पनि गरेको छ । रासस















प्रतिक्रिया