काठमाडौँ ३१ जेठ । नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै जाँदा केही जिल्लामा सदस्यता विस्तारको विषयले चरम रुप लिएको छ ।
खासगरि, तराईका सिरहा, सप्तरी, पर्सा र रौतहट जिल्लामा क्रियाशिल सदस्यताको विषयले विवाद उब्जेको हो । सदस्यता वितरणमा धेरै विवाद देखिएपछि क्रियाशील सदस्यता छानबिन समितिले सम्बन्धित जिल्लामै पुगेर विवाद मिलाउन प्रतिनिधि खटाइसकेको छ । “त्यहाँको विवाद एक/दुई दिनभित्रमा टुङ्गिने छ”, छानबिन समितिका सदस्य रामकृष्ण यादवले भन्नुभयो । यादवका अनुसार ती जिल्लामा जिल्ला सभापति र क्षेत्रीय सभापतिबीच विवाद देखिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले हालसम्म ६० जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाइसकिएको बताउनुभयो ।
काँग्रेसले क्रियाशील सदस्यता छानबिन गर्नका लागि पार्टी केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो ।
काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म हुने कार्यक्रम छ । निर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन साउन २६, क्षेत्रीय अधिवेशन साउन २२ र नगर तथा गाउँ अधिवेशन साउन १४ गते गर्ने योजना रहेको काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
“असार १५ गतेभित्र क्रियाशील सदस्यता छानबिनको सबै काम पूरा गर्ने पार्टीको योजना छ, सदस्यता विवाद टुङ्गो लाग्नेबित्तिकै द्रुतगतिमा महाधिवेशन तयारी अगाडि बढ्ने छ”, उहाँले भन्नुभयो ।
नेता ढुङ्गानाका अनुसार भूकम्पका कारण प्रभावित क्षेत्रमा पार्टीका नेता खटिरहेका हुँदा केही समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
“अब चाँडै नै केन्द्रीय समितिको बैठक बसी पार्टीको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम, विधान, राजनीतिक दस्तावेज तय गरिनेछ”, सङ्गठन विभाग प्रमुख ढुङ्गानाले भन्नुभयो ।
सकेसम्म निर्धारित मितिमा नै महाधिवेशन गर्नका लागि पार्टीले आफ्नो क्रियाशीलता बढाएको ढुङ्गानाले बताउनुभयो ।













प्रतिक्रिया