काठमाडौं, ३१ जेठ । मानव बेचविखन विरुद्ध कार्यरत संस्था केआई नेपालले सीमा नाकाबाट १० जना युवतीको उद्दार गरेको छ ।
आइतबार केआई नेपालले परिवारलाई जानकारी नदिएरै भारत जान लागेका १० जना किशोरीलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्दार गरी घर फर्काएको हो ।
मानव तस्करी रोकथामका लागि चालेको अभियान अन्तर्गत उनीहरुलाई कृष्णनगर नाकाबाट उद्दार गरी घर फर्काइएको केआई नेपालका सूचना तथा सञ्चार संयोजक सुरक्षा बरालले जानकारी दिनुभयो ।
परिवारको जानकारी विना भारतका विभिन्न ठाउँमा जाने क्रममा केआई नेपालले इलाका प्रहरी कार्यालयको सहयोगमा ती किशोरीलाई घर फिर्ता गरेको हो ।
उद्दार गरिएका ती युवतीहरु भारतको हरियाना, दिल्ली, पञ्जाब, इटवा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर लगायतका ठाँउमा जागिरको प्रलोभनमा जान लागेका थिए ।
केआई नेपालले सीमामा अनुसन्धानका लागि युवतीहरुलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा भारत जान लागेको खुलेको कृष्णनगर नाकाका संयोजक गद्दुलाल चौधरीले बताउनुभयो ।
उद्दार गरिएका किशोरीहरुमा कपिलवस्तुका ३ जना, रुपन्देहीका १ जना, अर्घाखाँचीका २ जना र दाङका ४ जना रहेका छन् । उनीहरुलाई भारत लैजाने २ महिला समेत पक्राउ परेका छन् । कपिलवस्तु मनहरीकी २७ वर्षीया उमा गन्दर्ब र पाल्पा दोभानकी २७ वर्षीया बसुन्धरा बगाले लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ । यस क्षेत्रमा विभिन्न सघंससस्थांले सीमाक्षेत्रमा निगरानी बढाएपनि मानव बेचबिखनमा कमी आउन सकेको छैन । विचौलियाले विभिन्न बहाना बनाई नेपाली चेलीहरुलाई सीमा कटाउने गरेको घटनाहरु पटक पटक बाहिर आउने गरेका छन् ।
मानव बेचबिखनका घटनामा कमी ल्याउन कपिलवस्तको कृष्णनगरलाई लक्षित गरी ४ वटा सस्थांले आफ्ना अभियान सञ्चालन गरेका छन् । ती सस्थांहरुले भारत जाने नेपाली युवतीलाई फर्काउने गरेका छन् ।















प्रतिक्रिया