काठमाडौँ, ३० जेठ । जातीय राज्यको माग गर्दै एमाले छाडेका अशोक राईले अन्ततः मधेशी जनअधिकार फोरमसँग पार्टी एकीकरण गर्ने गर्ने सहमति गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीबीच शनिबार पार्टी एकीकरणको सहमति भएको हो । वरिष्ठ नेताहरु नै एमालेमै फर्किएपछि राईको संघीय समाजवादी निस्किय बन्दै आएको थियो । मधेश विद्रोहबाट जन्मिएको यादव नेतृत्वको दल पनि पटकपटक फुटेको थियो । खस समाजवादी भने नयाँ पार्टी हो ।
यस्तो छ सहमति
एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिने भएको छ । नयाँ पार्टीको अध्यक्ष उपेन्द्र यादव हुने भएका छन् भने राई संसदीय दलका नेता बन्ने सहमति भएको छ । यसैगरी, पाँच जनाको अध्यक्ष मण्डल बनाइने भएको छ । जसमध्ये फोरम नेपाल र संघीय समाजवादीबाट दुई–दुई जना र खस समावेशी पार्टीबाट एकजना हुनेछन् ।
यसैगरी, मधेशी फोरम र संघीय समाजवादीबाट एक–एक जना गरी दुई जना महासचिव हुने भएका छन् । यस्तै मधेशी फोरमबाट एक जना सचिव हुने भएका छन् । फोरमकै शिवजी यादव प्रमुख सचेतक हुने तय भएको छ ।
नयाँ पार्टीको केन्द्रीय समिति २ सय सदस्यीय हुने भएको छ । पार्टीले लोकतान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउने भएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गरिने भएको छ ।
















प्रतिक्रिया