काठमाडौं, २९ जेठ । गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लाका पीडितलाई केआई नेपालले राहत सहयोग जारी राखेको छ ।
भूकम्पबाट अति प्रभावित जिल्ला गोरखा र सिन्धुपाल्चोकमा केआई नेपालले विभिन्न सहयोग गरिरहेको जनाएको हो । विशेषगरी मानव बेचविखनविरुद्ध कार्यरत गैरसरकारी संस्था केआई नेपालले गोरखाको खरीबोट र खोप्लाङ गाविसमा रहेका ६ वटा विद्यालय निर्माण गरेको छ ।
बैशाख १२ गतेको महाभूकम्प र त्यसपछि पटक पटक आएको परकम्पनले दुई वडाका ६ वटै स्कुल नराम्ररी भत्किएका छन् । सस्थांले खरीबोट गाविसका भानुज्योति निम्न माध्यामिक विद्यालय, सेर्तान निम्न माध्यामिक विद्यालय र प्रभा माध्यामिक विद्यालयमा सहयोग स्वरुप श्रम र जस्तापाता वितरण गरेको हो ।

त्यसैगरी खोप्लाङ गाविसका बिन्दवासिनी प्राथमिक विद्यालय, शारदा माध्यामिक र अन्नपूर्ण उच्च माध्यामिकमा पनि सहयोग स्वरुप श्रम र जस्ता पाता वितरण गरेको संस्थाका राष्ट्रिय निर्देशक रमेश सापकोटाले जानकारी दिनुभयो । केआई नेपालले अति प्रभावित क्षेत्रमा महिला र बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै राहत वितरण गरेको जनाएको छ ।
यसैबीच सिन्धुपाल्चोकमा अति प्रभावित गरिब दलित र एकल परिवारलाई ३० वटा अस्थायी घर बनाउने काममा सहयोग गरेको छ । घर निर्माणमा मात्र सीमित नभई केआई नेपाल महाभूकम्पले क्षति भएका भौतिक संरचनाका भग्नावशेष हटाउने काममा समेत क्रियाशील छ । केआई नेपाल महिला तथा बालबालिका बेचबिखन बिरुद्घमा काम गर्ने संस्था भएपनि विपतको बेलामा राहतको काम गर्न पाएकोमा खुसी लागेको संस्थाले जनाएको छ ।
यसअघि विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा केआई नेपालले राहत सामग्री वितरण गरेको थियो । भूकम्पबाट बढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक, गोरखा, नुवाकोट र दोलखाका महिला र बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला दैविक प्रकोप उद्धार समितिको समन्वयमा राहत वितरण गरिएको हो । गोरखाका अति प्रभावित तथा दुर्गम गाविस घ्याच्चोक, सिम्जुङ्ग, खरिबोट, हसंपुर, मुच्चोक लगायत पालुङ्गटार, छोप्राक र हर्मीमा राहत स्वरुप ४ हजार थान त्रिपाल र ४ हजार थान ब्लाङ्केट वितरण गरिएको थियो ।
साथै राहत सामग्री वितरण पश्चात स्थानीयबासीलाई परेको चोटमा केहीहद सम्म मलम लगाउन पाउँदा आफूलाई पनि खुसी महसुस गरेको संस्थाले जनाएको छ । त्यसैगरी सबैभन्दा बढी जनधनको क्षति भएको सिन्धुपाल्चोकको कर्थली गाविसमा एक हजार थान पाल, नुवाकोटको सुन्दरदेवी र किन्ताङ गाविसमा एक हजार थान पाल साथै दोलखाका विभिन्न गाविसका भूकम्प प्रभावितहरुलाई दुई हजार थान पाल पनि केआई नेपालले सहयोग गरेको थियो ।

यस सस्थांले नेपाल, भारत नाकाहरुमा मानव बेचबिखन बिरुद्धमा निगरानी, परामर्श तथा बेचबिखन बिरुद्धमा सचेतना अभियान संचालन गर्दै आइरहेको छ । साथै नाका क्षेत्र तथा प्रभावित क्षेत्रबाट बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार, पूनर्स्थापना र पूर्नएकीकरणको विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसैक्रममा केआई नेपालले आन्तरिक रुपमा बिशेषगरी डान्सबार, क्याबिन रेष्टुरेष्ट तथा मसाज पार्लर जस्ता क्षेत्रहरुमा दासत्वपूर्ण जीवन बिताइरहेका महिला तथा बालिकाहरुको उद्धार, पूनस्र्थापना र उनीहरुको वैकल्पिक शिक्षा र क्षमताको पहिचान गरी वैकल्पिक पेसा, व्यवसायमा लगाउन प्रोत्साहन गराउने उद्देश्यले नयाँ जीवन कार्यक्रम समेत सुरु गरेको केन्द्रीय कार्यक्रम संयोजक राधिका गिरीले जानकारी दिनुभयो ।















प्रतिक्रिया