– कुमार चौलागाई
काठमाडौँ, २९ जेठ । मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपाल गत वैशाख १२ को विनाशकारी भूकम्पबाट पीडित बनेका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, धादिङ र काठमाडौँ उपत्यकाका विभिन्न गाविसका बासिन्दाको सारथी बन्दै गएको छ ।
भूकम्पपछि घरवारविहीन भएका यी जिल्लाका दुर्गम बस्तीका बासिन्दाका लागि राहत वितरण मात्र नभई संस्थाले अस्थायी बसोवासका लागि जस्ता, किलाकाँटा, भत्किएका विद्यालयका लागि जस्तासमेत उपलब्ध गराउँदै आएको छ ।
सरकारले अस्थायी बसोवास र जस्ता खरिदका लागि तत्काल रु १५ हजार उपलब्ध गराउने भने पनि धेरै जिल्लामा वर्षा सुरु हुनलाग्दा समेत सो उपलब्ध गराउन नसकेको अवस्थामा माइती नेपालले प्रभावित क्षेत्रका बासिन्दाका लागि अस्थायी बासोवास र बालबालिकाको पठनपाठनलाई ध्यानमा राख्दै विद्यालयहरूलाई जस्तापाता उपलब्ध गराउँदै आएको संस्थाका निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म नुवाकोटको गाउँखर्कस्थित वीरेन्द्र माविलाई १० बण्डल, वडा नंं ७ को माप्ले निमाविलाई पाँच बण्डल, हिमालयन प्राविलाई चार बण्ड, सिन्धुपाल्चोक शिखरपुरको शीलतलादेवी माविलाई पाँच तथा महाङ्काल गाविसका केही विद्यालयलाई जस्तापाता उपलब्ध गराइसकेको छ ।
त्यस्तै गाउँखर्क वडा नंं ८ र ९ का १८३ घरधुरी तथा सिन्धुपाल्चोक महाङ्काल गाविसको वडा नंं ७ का १४८, शिखपुरका ८५ लगायत अन्य गाउँमा समेत प्रतिघरधुरी एक एक बण्डलका दरले जस्तापाता उपलब्ध गराइएको छ । सिन्धुपाल्चोककै इचोक गाविसमा समेत शनिबार २०० बण्डल जस्ता वितरण गर्ने उहाँले बताउनुभयो ।
रसुवा र धादिङका विभिन्न विद्यालयबाट जस्ताको माग आएकाले ती ठाउँमा पनि निकट भविश्यमा जस्ता वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
“सरकारले दिने भनेको रकम अहिलेसम्म पाउन सकिएको छैन, माइती नेपालले उपलब्ध गराएको जस्ता लिँदै सिन्धुपाल्चोक शिखरपुरका विष्णु विक भन्छन्, “अब सरकारले जस्ता खरिदका लागि दिने भनेको रु १५ हजार नदिए पनि वर्षा काट्न हामीलाई समस्या छैन ।”
यसअघि त्रिपाल टाँगेर बसेको बताउँदै नुवकोटको गाउँखर्कका वीरबहादुर तामाङ जस्ता पाएपछि खुसी हुँदै अब अस्थायी टहरो निर्माण गरी ढुक्कसँग बस्ने बताउँछन् ।
माइनी नेपालको तथ्याङ्कअनुसार ती जिल्लामा अहिलेसम्म रु ६२ लाख १३ हजार ८४० बराबरको खाद्य सामग्री र रु २६ लाख ४९ हजार ४३३ को जस्तापाता वितरण गरिसकेको छ ।
आफूहरूको अहिलको प्रमुख उद्देश्य भनेको पीडितलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता सहयोग, महिला तथा बालबालिका संरक्षण र बेचबिखनविरुद्ध सचेतना र परामर्श भएको बताउँदै निर्देशक खड्काले वर्षाअघि नै सबै ठाउँका पीडितलाई एक एक बण्डल जस्तापाता पु¥याउन आफूहरू लागिपरेको जानकारी दिनुभयो ।
राहत वितरणसँगसँगै संस्थाले विपतका बेला महिला र बालबालिका बढी जोखिम र बेचबिखनमा पर्न सक्ने भएकाले त्यसप्रति सचेत हुन आग्रह गरेका छन् । समाजमा पिछडिएका, एकल जीवन बिताइरहेका, अशिक्षित महिलाहरू बेचबिखनमा पर्नसक्ने बताउँदै संस्थाले ती जिल्लाका विभिन्न ठाउँमा डेस्क स्थापना गरी परामर्श दिँदै आएको छ ।
माइती नेपालको पछिल्लो तथ्याङ्कअनुसार सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौँका विभिन्न सुकुम्बासी बस्ती तथा काभ्रेका विभिन्न स्थानबाट राम्रो रोजगारीको प्रलोभन देखाउँदै भारत लैजाँदै गरेको अवस्थामा महेन्द्रनगर, इलामको पशुपतिनगरलगायत नाकाबाट ४५ जना युवतीको उद्धार गरिसकेको छ । ती जिल्ला पहिले देखिनै मानव बेचबिखनको उच्च जोखिममा रहँदै आएको छ ।
मानव तस्करहरूले पक्राउ पर्ने डरले कतिपय युवतीलाई अहिले आन्तरिक उडानमार्फत भद्रपुर लैजाने र त्यहाँबाट स्थलमार्ग हुँदै भारत लैजाने गरेको तथ्यसमेत सार्वजनिक भएको छ ।
आगामी दिनमा पनि राहत र अस्थायी निर्माणमा उच्च सक्रियताका साथ लाग्ने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ । रासस













प्रतिक्रिया