काठमाडौं, २३ जेठ । नेकपा (एमाले)को स्वयंसेवक परिचालन अभियानअन्तर्गत शनिवार पनि स्वयंसेवकहरुले खटिएर काम गरेका छन् ।
गत जेठ १० गतेदेखि सुरु भएको अभियानमा एमालेका दश हजार स्वयंसेवक परिचालन गरिएका छन् । भूकम्पबाट प्रभावित जिल्लामा खटिएका स्वयंसेवकले अहिलेसम्म १० हजार बढी घर तथा विद्यालय निर्माण गरिसकेका छन् । यो अभियानमा शिर्ष नेताहरु नेतृत्व लिइरहेका छन् ।
शनिवार एमालेका शिर्ष नेताहरुले स्वयंसेवकहरुले निर्माण गरेको घर तथा टहराहरुको अवलोकन गरेका छन् । एमालेका शिर्ष नेता झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेता विभिन्न प्रभावित जिल्ला पुगेर स्वयंसेवकको काम बारे स्थानीय समुदायसँग जानकारी लिनुको साथै निर्माण कार्यमा सहभागिता जनाएका छन् ।
कुन नेता कहाँ कहाँ कति काम गरे । एमालेले जारी गरेको विज्ञप्तीमा जस्ताको तेस्तै :
प्रेस नोट
१. नेकपा (एमाले)का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालले आज नेकपा (एमाले) स्वयंसेवक परिचालन अभियानअन्तर्गत भक्तपुरमा परिचालित स्वयंसेवक टोलीले गरेको पुनर्निर्माण कार्यको अनुगमन गर्नुभयो । सो अवसरमा बरिष्ठ नेता खनालले एमालेको सिंगो पंक्ति अहिले देशको पुनर्निर्माण अभियानमा जुटिरहेको बताउनुभयो । उहाँले महाविपत्तिको सामना गर्दै अब सबै एकजुट भएर राष्ट्रको पुनर्निर्माणलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमति आवश्यकता भएको औंल्याउँदै यसका लागि दलहरुबीच उच्चस्तरको राष्ट्रिय एकताको विकल्प नभएको बताउनुभयो । ‘सबै मिलेर विपत्तिको सामना र व्यवस्थापन गर्नुपर्छ’– खनालको कथन थियो ।
वरिष्ठ नेता खनालले भक्तपुर चाँगुनारायणस्थित चाँगुनारायण उच्च माविको क्षतिग्रस्त भवनको भग्नावशेष हटाउने कार्यमा संलग्न हुनुभयो । वरिष्ठ नेता खनालसँगै पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा सो क्षेत्रका अभियान संयोजक सोम मिश्र, स्वयंसेवक टोलीमा संलग्न रहँदै आउनुभएका ताप्लेजुङ जिल्ला पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङ्ग, ताप्लेजुङका सभासद् उपेन्द्र थेवे र डम्बरध्वज तुम्वाहाम्फे पनि हुनुहुन्थ्यो । उक्त स्वयंसेवक टोलीले चाँगुनारायण उच्च माविको भग्नावशेष हटाई छ कोठा अस्थायी भवन निर्माण गरेको छ । सोही सन्दर्भमा बरिष्ठ नेता खनालले परिवर्तनका लागि सहकार्य नेपाल नामक संस्थाले तयार गरेका राहत सामग्री पनि भूकम्प पीडितहरुलाई वितरण गर्नुभएको थियो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोम मिश्रले नेकपा (एमाले)को राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत भक्तपुरमा ७ सय ५० घरपरिवारका लागि ७ सय ५० अस्थायी घर तथा २० वटा विद्यालयको भग्नावशेष हटाएर अस्थायी भवन निर्माण भएको अनुगमन कार्यक्रममा बरिष्ठ नेता खनाललाई जानकारी गराउनुभएको थियो ।
२. पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपालले सिन्धुपाल्चोकमा स्वयंसेवक टोलीले गरेको पुनर्निर्माण कार्यको अनुगमन गर्नुभएको छ । नेता नेपालले सिन्धुपाल्चोक क्षेत्र नं. ३ को नवलपुर र सदरमुकाम चौताराको अनुगमन गर्नुभयो । उहाँले सदरमुकाम चौतारामा निर्माणाधीन श्रीकृष्ण रत्नगंगा उच्च माविको छ कोठा अस्थायी भवनको पनि अवलोकन गर्नुभयो । नेता नेपाल सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलगायत कार्यालय प्रमुखहरुसँग पुनर्निर्माणका सम्बन्धमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभयो । जिल्लामा भूकम्पपछि भइरहेका उद्धार, राहत र पुनर्निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारी, गणपति र डिएसपीले नेता नेपाललाई ब्रिफिङ गर्नुभएको थियो । त्यस अवसरमा नेता नेपालले कार्यालय प्रमुखहरुको बैठकमा सम्बोधन गर्दै स्थायी सरकार भनेको कर्मचारी भएकोले कर्मचारी वर्गबाट पुनर्निर्माण कार्यको सन्दर्भमा उत्कृष्ट कार्यको अपेक्षा राखेको विचार व्यक्त गर्नुभयो । उहाँले भोक–प्यास बिर्सेर निर्माण कार्यमा तनमनका साथ कार्य गर्न आग्रह गर्नुभयो । भूकम्पले ल्याएको विपत्ति चुनौतीमात्र नभएर अवसर पनि भएको उल्लेख गर्दै नेता नेपालले नवनेपाल निर्माणका लागि यसलाई अवसरका रुपमा लिई अघि बढ्नुपर्ने बताउनुभयो । नेपालले राष्ट्रको पुनर्निर्माण र नयाँ संविधानका लागि राष्ट्रिय सहमति निर्माण गरेर इच्छाशक्ति भएको राष्ट्रिय सरकारको आवश्यकता रहेको औंल्याउनुभयो ।
नेता नेपालले शनिवार नै काठमाडौं क्षेत्र नम्बर ९ मा भएको निर्माण कार्यको पनि निरीक्षण गर्नुभएको छ । उक्त अवसरमा उहाँले स्वयम्सेवकहरुलाई धन्यवाद दिँदै थप कामका लागि उत्साहित बनाउनुभएको थियो ।
३. पार्टी उपमहासचिव कमरेड विष्णुप्रसाद पौडेल आज पनि ललितपुरको ठेंचोमा परिचालित स्वयंसेवक टोलीसँगै पुनर्निर्माण कार्यमा जुट्नुभयो । यसअघि बुङ्मतीमा पनि उपमहासचिव पौडेल स्वयंसेवक टोलीसँगै क्षतिग्रस्त घरहरुको भग्नावशेष हटाउने कार्यमा संलग्न रहँदै आउनुभएको थियो । उपमहासचिव पौडेल स्वयं क्षतिग्रस्त र धरापयुक्त घरहरु भत्काउने र अस्थायी घरहरु निर्माण गर्ने कार्यमा संलग्न भएपछि स्वयंसेवकहरु उत्साहित हुँदै पुनर्निर्माण कार्यमा जुटेका छन् । कमरेड पौडेलको कार्यले स्वयंसेवकहरुलाई ऊर्जा मिलेको छ ।
४. नेकपा (एमाले) राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक एवं पार्टी सचिव गोकर्ण विष्टले रसुवामा स्वयम्सेवकहरुले निर्माण गरेका चारवटा विद्यालय भवनहरु आज हस्तान्तरण गर्नुभएको छ । सेतीदेवी उमावि, वागेश्वर मावि, दुप्तेश्वरी निमावि र गोसाइकुण्ड माविका नवनिर्मित अस्थायी भवनाहरु हस्तान्तरण गर्दै संयोजक विष्टले पार्टीका तर्फबाट गरिएको यो अल्पकालीन सहयोग भएको र दीर्घकालीन रुपमा पनि यहाँका जनतालाई सहयोग गर्न आफ्नो पार्टी क्रियाशील हुने जानकारी दिनुभयो । स्थानीयस्तरबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै संयोजक विष्टले भन्नुभयो– ‘विपत्तिको मिलेर सामना गर्नुबाहेक अरु विकल्प छैन । सबैले प्रण गरौँ– हामी अहिलेभन्दा सुन्दर देश बनाउनेछौँ ।’
उक्त अवसरमा पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्यद्वय सूर्य थापा र ठाकुर गैरेलगायतका नेताहरु पनि हुनुुहुन्थ्यो ।
लुम्बिनीको पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासीका साथै अनेरास्ववियुको टोलीले रसुवामा हालसम्म १३ विद्यालय भवन र १ सय ३ वटा टहरा बनाइसकेका छन् ।
संयोजक विष्टसहितका नेताहरु नुवाकोटमा आयोजित कार्यकर्ता भेलामा पनि सहभागी हुनुभएको थियो ।
आज स्वयंसेवकहरुले निम्नबमोजिम कार्यसम्पादन गरेको विवरण प्राप्त भएको छ ः
काठमाडौंः केन्द्रीय सदस्य सावित्रा भुसालको नेतृत्वमा क्षेत्र नम्बर १ मा खटिएको टोलीले क्षेत्र नम्बर २ को शंखरापुर नगरपालिका– ७, पालुबारीमा पुगी महेन्द्र निमाविको भत्किएको घर सफा गरी दुईवटा कक्षाकोठा बनाएको छ भने त्यहाँस्थित नारायण मन्दिर भग्नावशेष पनि सफा गरेको छ ।
क्षेत्र नम्बर ७ को नेपाल युवक मावि, शान्ति शिक्षा मन्दिर र जनजागृति माविको टहरा बनाउने काम जारी छ । जीतपुरमा २ टहरा, गोलढु्रंगाको दाहालथोकमा ३ वटा टहरा, खुमलटारमा ३ वटा टहरा र फूलबारीमा एउटा टहरा बनाएको छ भने रानीवनमा पनि १ टहरा बनाइएको छ । यस क्षेत्रमा स्वयम्सेवकहरुका १० वटा टोली क्रियाशील छन् ।
क्षेत्र नम्बर ४ को कुमारीगाल, मित्रपार्क, सिफल र चावहिलमा गरी आज ९ वटा चर्किएका घर भत्काइएको छ । सिफलस्थित वालसुधार माविको भत्किएको भवन सफा गर्ने काम भएको छ भने कुमारीगालमा एक टहरा निर्माण गरिएको छ ।
क्षेत्र नम्बर ५ को बुढानिलकण्ठको डाँडागाउँमा क्षतिग्रस्त ५ वटा घरबाट त्यहाँ रहेको सामान सुरक्षित रुपमा बाहिर निकालेर ती घर भत्काउने काम सम्पन्न भएको छ । अनेरास्ववियुका उपाध्यक्ष थोमस वाँस्तोला नेतृत्वको उक्त टोलीले एउटा टहरा पनि बनाएको छ ।
क्षेत्र ९ को स्युचाटारमा चर्किएको अवस्थामा रहेका पक्की ५ वटा घर भत्काइएको छ भने भीमढुंगा, कलंकी, बलम्बु र नैकापमा पनि घर भत्काउने कार्य जारी छ ।
क्षेत्र नम्बर १० को कीर्तिपुर नपा– ११, पाँगामा १ घर भत्काइएको छ भने दक्षिणकाली नगरपालिका– ११, टल्कु डुँडेचौरमा ११ वटा घर भत्काउनुका साथै २ वटा टहरा निर्माण गरिएको छ । त्यसैगरी, चन्द्रागिरी नगरपालिका– ११, थानकोटमा ३ वटा घर भत्काइएको छ ।
ललितपुरः क्षेत्र नम्बर १ मा पेसागत महासंघका महासचिव शिव अधिकारी नेतृत्वको टोलीले चर्किएको अवस्थामा टिकाथलीका २० र इमाडोलको १ घरबाट सामग्रीहरु सुरक्षित रुपमा बाहिर निकाली ती घरहरु भत्काएको छ ।
क्षेत्र नम्बर ३ को ठेंचोमा पार्टीका उपमहासचिव विष्णु पौडेलले विहानै आरम्भ गर्नुभएको भग्नावशेष भत्काउने काम अन्तर्गत दिनभरमा ४१ वटा घरबाट सामान निकालेर भत्काइएको छ । त्यसक्रममा स्वयम्सेवक अर्जुन घिमिरेलाई चोट लागेको छ ।
लमजुङ ः लमजुङ जिल्लामा परिचालित स्थानीय स्वयंसेवक टोलीले क्षेत्र नं. १ मा तार्कुघाट गाविस र क्षेत्र नं. २ मा दुराडाँडा र कुण्ठामा क्षतिग्रस्त घरहरुको भग्नावशेष हटाउने र अस्थायी घर बनाउने कार्य भइरहेको छ । लमजुङ जिल्ला कमिटीले प्रत्येक संगठित सदस्यलाई कम्तिमा ५ दिन स्वयंसेवक अभियानमा लगाउने गरी कार्य अघि बढाएको छ ।
गोरखाः क्षेत्र नम्बर १ को गोरखा नगरपालिका– १३, फिनामस्थित असहाय महिला दिकुमारी बानियाँको चर्किएको घर सुरक्षित रुपमा भत्काइनुका साथै बसोबासका लागि टहरा निर्माण सुरु गरिएको छ । सम्झना देवकोटाको नेतृत्वको टोलीले सोही नगरपालिकाको ४ नम्बर, रिपस्थित दुई असहाय महिलाका चर्किएका घर पनि भत्काइएको छ ।
क्षेत्र नम्बर २ श्रीनाथकोट गाविसस्थित सूर्यज्योति निमाविको भग्नावशेष हटाएर अस्थायी टहरा बनाउने कामको सुरुआत भएको छ ।
क्षेत्र नम्बर ३ को घ्याम्पेसालको दुल्लभ उमाविमा अनेरास्ववियुका कोषाध्यक्ष रश्मी आचार्यको नेतृत्वको टोलीले टहरा निर्माण गरेको छ ।
सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार समिति
















प्रतिक्रिया