६ कार्तिक २०८३, शुक्रबार

वाग्मती सफाइ महाअभियानमा पहिलेकै जस्तो सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bagmati3

काठमाडौँ, २३ जेठ । वाग्मती सफाइ महाअभियानमा भूकम्प अघिको जस्तै सहभागिता जुट्न थालेको छ ।

गत वैशाख १२ गते शनिबार बिहान ११ः५६ मा ७.६ रिक्टर स्केलको भूकम्प गएपछि सफाइ महाअभियानमा कम जनसहभागिता हुन थालेकामा आज १०८ औँ हप्तामा आइपुग्दा पहिलेकै जस्तो उपस्थिति भएको हो । विसं २०७० जेठ ४ गतेदेखि महाअभियान सुरु भएको थियो ।

आजको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी र विभिन्न सामाजिक एवम् व्यावसायिक सङ्घसंस्थाको सक्रियता रहेको अभियानकर्ता जीवन विज्ञान नेपालका संस्थापक रमेश नेपालले जानकारी दिनुभयो ।

पशुपति राममन्दिर परिसरमा भएको आजको सफाइबाट १५ मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । “पशुपति आर्यघाटमा फोहर व्यवस्थापन हुन नसक्दा शवबाट निकालिने फूल र कपडालगायत सामग्री यत्रतत्र फालिएको पाइयो, यसलाई अर्को हप्ताबाट पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ”-उहाँले भन्नुभयो ।

सरसफाइ कार्यक्रमको समापन गर्दै मुख्यसचिव लीलामणि पौडेलले भूकम्पपछि जनजीवन सामान्य हुँदै गएको सन्दर्भमा महाअभियानलाई नयाँ शैलीबाट अगाडि बढाउने सोचमा लागिएको जानकारी गराउनुभयो । “दुुई वर्ष पुगेको अवसरमा जेठ ५ गतेदेखि नै नयाँ शैलीको सफाइ कार्यक्रम सञ्चालन गर्ने तयारीमा थियौँ, तर वैशाख १२ गतेको भूकम्प र पटक पटकका परकम्पका कारण असामान्य अवस्था आएपछि त्यो सम्भव भएन, अब छिट्टै नयाँ शैलीको सफाइ अभियानको गृहकार्य गरिरहेका छौँ” – उहाँले भन्नुभयो । रासस