काठमाडौँ, २२ जेठ । गत वैशाख १२ गते भूकम्पपछि नेपाल आएका १८ राष्ट्रका सेनाका सम्पूर्ण टोली भूकम्पपीडितको खोज, उद्धार, राहत, घाइतेलाई उपचार सेवा, अवरुद्ध सडक खुलाउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यसम्पादन गरी स्वदेश फिर्ता भएका छन् ।
क्यानडाका बाँकी सात सैनिक स्वदेश फिर्ता भएपछि मित्रराष्ट्रबाट आएका सबै विदेशी सैनिक फिर्ता हुने कार्य सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।
मित्रराष्ट्रबाट आएका सम्पूर्ण खोज तथा उद्धार टोली स्वदेश फिर्ता भएपछि जङ्गी अड्डा परिसरमा सञ्चालन भएको मल्टिनेसनल मिलिटरी कोओर्डिनेसन सेन्टर आजैदेखि बन्द गरिएको र यससम्बन्धी बाँकी कार्य भएमा बलाधिकृत विभाग, व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालयको कार्यालयबाट सम्पन्न हुने जनाइएको छ ।
नेपाल र नेपालीलाई परेको प्राकृतिक विपद्को कठिन घडीमा तत्काल आई नेपाली सेनासँग हातेमालो गर्दै भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषमा पुरिएकालाई जीवितै उद्धार गर्ने, शव निकाल्ने, घाइतेको उपचार गर्ने, राहत सामग्री ढुवानी गर्ने एवम् अवरुद्ध सडक खोल्नेजस्ता कार्य गरी अतुलनीय सहयोग गरेकामा सेनाले धन्यवाद दिएको छ ।
यस किसिमको सहयोग तथा सहकार्यबाट सबै मित्रराष्ट्रसँग लामो समयदेखि रहिआएको मैत्रीपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुगेको सेनाले जनाएको छ ।















प्रतिक्रिया