काठमाडौँ, २० जेठ । नेकपा एमालेले आगामी संविधानमा पाँच प्रदेशको प्रस्ताव अघि सारेको छ ।
नेकपा एमाले स्थायी समितिको बुधबार बसेको बैठकले पाँच प्रदेशलाई पार्टीको बटमलाइन बनाउने निर्णय गरेको हो । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार, ५ प्रदेशलाई बटमलाइन बनाउने तर सीमांकनको कुरा नमिले संघीय आयोग र नामांकनका लागि प्रदेश आयोगमा पठाउन सकिने प्रस्ताव अघि सारेको हो । एमाले र काँग्रेसको प्रस्ताव नजिक देखिएपनि एमाओवादी ८ प्रदेशबाट तल झर्ने पक्षमा देखिएको छैन ।
यसैगरी, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रत्यक्ष निर्वाचितको बहुमत हुने गरी संसद बनाउने तथा पाँच प्रतिशत थ्रेसहोल्ड राख्ने प्रस्ताव पनि एमालेको छ ।
एमाले सचिव भट्टराईका अनुसार, यही बटमलाइनका आधारमा शीर्ष नेताहरुले अरु पार्टीका नेताहरुसँग छलफल अगाडि बढाउने समझदारी भएको छ ।
बैठकमा नयाँ सहमतिय सरकारका विषयमा पनि छलफल भएको थियो । भूकम्पपछिको विपत व्यवस्थापन तथा संविधानलाई प्याकेजमा समेट्ने गरी राष्टिय सरकारको खोजी गर्ने एमालेको निर्णय छ ।
स्थायी समितिमा सबै सदस्यहरुले आफ्ना धारणा राख्न नपाएपछि शुक्रबार दिउँसो २ बजे फेरि बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको छ ।बैठक उपप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको पुल्चोकस्थित सरकारी निवासमा भएको थियो ।
















प्रतिक्रिया