विराटनगर, १८ जेठ । मोरङमा आज मध्याह्न यात्रुबाहक बस र ट्रयाक्टर एकापसमा ठोकिँदा ट्रयाक्टरका चालकसहित सात जना गम्भीर घाइते भएका छन् ।
ट्रयाक्टर चालक सुन्दरदुलारी–१० बस्ने ४५ वर्षीय विष्णु चौधरी र सोही ठाउँ बस्ने ट्रयाक्टरमा सवारमा हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
त्यसैगरी, बसमा सवार झापाको सत्तिघटा–८ बस्ने पूर्ण देवान, पथरी–शनिश्चरे–७ बस्ने भूपाल कार्की, वडा नं १ बस्ने मञ्जु पराजुली, विराटनगर–१ बस्ने बालिका कार्की, उहाँकी डेढ वर्षीय छोरा सिद्धार्थ, कोसीहरैचा–१३ बस्ने सूर्यबहादुर विक, वडा नं–१ बस्ने सीता पराजुली र सुन्दर–दुलारी–१ बस्ने देवी पाण्डे घाइते भएका छन् ।
घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारीअनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दर–दुलारी–१० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १५८५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को१त २३०९ नंको ट्रयाक्टर ठक्कर खाएको थियो ।
दुबैै चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखिएको छ । रासस















प्रतिक्रिया