६ कार्तिक २०८३, शुक्रबार

पहाड चर्किएपछि म्याग्दीमा फेरि पहिरोको जोखिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali-gandaki-3बाबियाचौर (म्याग्दी), १८ जेठ । बेनी नगरपालिका–१४ सुर्केमेला गाउँ बस्तीमाथि रहेको पहाड चर्किएपछि पहिरोको जोखिममा परेको छ ।

बस्तीदेखि करिब एक किलोमिटर माथि भकिम्ली–४ मा रहेको चिल बस्ने डाँडाको पहाड गत वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण चिरा परेर भत्कने अवस्थामा पुगेको हो ।

पहाडको टुप्पोमा चिराचिरा परेको र धाँजा फाटेकाले पहिरो खस्ने जोखिम रहेको सुर्केमेला युवा क्लबका सचिव प्रेम खत्रीले बताउनुभयो । उहाँका अनुसार पहिरो खस्ने डरले सुर्केमेलाका ६० घरपरिवार त्रसित भएका छन् ।

पहिरोको सम्भावित खतराबाट बच्नका लागि चेकजाँचका लागि प्राविधिक खटाइदिन माग गर्दै क्लबले आइतबार बेनी नगरपालिका कार्यालयमा निवेदन दिएको छ । बर्सातको समयमा पहाड भत्किएर पहिरो खस्न सक्ने जोखिम हुँदा सम्भावित खतराबाट बच्नका लागि प्राविधिक चेकजाँच गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

भुकम्प र पराकम्पनका कारण चट्टान चर्किएकाले पहिरो खस्ने खतरा देखिएको क्षेत्रीले बताउनुभयो । २०३२ साल साउन १७ गते चिल बस्ने डाँडाबाट खसेको पहिरोले सुर्केमेलामा ६ घरगोठ पुर्दा १३ मानिसको ज्यान गएको थियो । रासस