६ कार्तिक २०८३, शुक्रबार

लाङटाङमा हिमपहिरो पग्लिँदै गएपछि शव देखिन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang_valley_nepalधुन्चे (रसुवा), १७ जेठ । हिमपहिरो आई छोपिएको लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखापर्न थालेका छन् ।

नेपाली सेनाको एनए–०४६ लाइन्सर हेलिकप्टरका चालक प्रमुख सेनानी सुवास थापाका अनुसार आज बिहान लाङटाङ गाउँमाथि उडान भर्दा थुप्रिएको हिउँका सतह केही घटेको र मानिसका शव देखिन थालेको बताउनुभयो ।

कति शव देख्नुभयो भन्ने राससको जिज्ञासामा प्रमुख सेनानी थापाले भन्नुभयो, “माथिबाट हिमपहिरो आउने क्रम पनि थोरबहुत भइरहेकै कारण यकिन गर्ने अवस्था नरहे पनि हवाइमार्गबाट हेर्दा एक दर्जनभन्दा बढी मानिसको शव हुनसक्ने अनुमान छ ।”

थापा भूकम्पपछि उद्धारको काममा लाङटाङ क्षेत्रमा उडान भर्ने चालक भएको बताइएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै समुन्द्री सतहदेखि सातहजार मिटर माथिबाट आएको हिमपहिरोले लाङटाङ गाउँ पुर्दा ३५० भन्दामाथि बढी मानिस हराएको अनुमान गरिए पनि यसभन्दाअघि १२८ जनाको मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

भूकम्पपछि उच्च भागको हिमशृङ्खला फुटी पहिरो आउन थालेपछि बढ्दो जोखिमलाई ख्याल गर्दै लाङटाङ क्षेत्रमा मानवविहीन तुल्याइएको र सबै लाङटाङवासीलाई हाल काठमाडौँको स्वयम्भूस्थित एलो गुम्बामा आश्रय दिइएको जिल्ला दैवी प्रकोप विपद् व्यवस्थापन समितिले जनाएको छ ।

हिमपहिरोले पुरिँदा १८२ जना लाङटाङवासी बेपत्ता भएको र नभेटिएका सबैलाई राज्यद्वारा मृत घोषणा गर्नुपर्ने गाउँवासीको माग रहेको लाङटाङ निवासी राप्रपा नेपालका अध्यक्ष ठिले लामाले बताउनुभयो ।

यसैबीच, हाकु गाविसका विस्थापित लगभग ५०० घरपरिवार बेत्रावती, धुन्चेलगायत क्षेत्रमा स्थानान्तरण भइसकेको हाकु गाउँ विकास समितिले जनाएको छ । रासस