– शिशिर सिंखडा
चितवन, १७ जेठ । पूर्वी चितवनको जुटपानी १, गुराउचौर की ६५ वर्षीय मंगलीमाया कुमालले आज झुण्डिएर आत्महत्या गरेकी छन् ।
गत वैशाख २९ गते आएको भूकम्पबाट आफ्नै घर भत्किई घाईते भएकी कुमाल चितवन मेडिकल कलेजबाट निःशुल्क उपचारपछि १ हप्तामा घर फर्केकी थिइन् ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको घर पूर्ण रुपमा क्षति भएको थियो । छोराबुहारीसँग छुट्टाभिन्ना भई अलग्गै बस्दै आएकोमा भूकम्पले घर भत्किएपछि श्रीमान् रामबहादुर कुमाल र मंगलीमाया जुटपानी ४, क्लबचोकमा छोरीको घरमा बस्दै आएका थिए ।
अस्पतालबाट फर्केपछि नेपाल रेडक्रस सोसाइटी भरतपुरबाट प्राप्त त्रिपाल, कपडा र भाडावर्तन नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलले सहयोग गरेको थियो । सहयोग गर्ने क्रममा मंगलीमायाले ‘छोरीको उकालो मानो खानु हुँदैन, बुहारीहरुले पालेनन् कसैले घर बनाइदिए बस्ने थिए’ भनेकी थिइन् । नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखा खोलेसिमलका सभापति गणेश शर्मा पौडेलले भन्नुभयो ।
मंगलीमायाको सो भनाईले जुटपानी रेडक्रसले १ बोरा चामल समेत भोलीपल्ट सहयोग पु¥याएर फर्किएको थियो । आफ्नो घर भत्किएको र बनाईदिने कोहि नभएकोले उनले आत्महत्या गरेको हुन सक्ने पौडेलले बताउनुभयो । छोरीको घरको तल्लो तलामा आज मध्यान्ह मंगलीमाया झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।
उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको कार्कीले जानकारी दिनुभयो । उनले के कारणले आत्महत्या गरेको हो सो भने अनुसन्धानबाट मात्र थाहा हुने उहाँले बताउनुभयो ।















प्रतिक्रिया