६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ एमाले अध्यक्ष ओलीको अपिल (अपिलको पूर्ण पाठसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौँ, १७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भग्नावशेषबाट पनि नयाँ नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ ।

पार्टीले संचालन गरेको स्वयंसेवक अभियानमा सहभागी हुन अपिल गर्दै अध्यक्ष ओलीले एकताबद्ध भएर काममा समर्पित हुने हो भने भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउन चाहेको बताउनुभयो । एमालेले संचालन गरेको स्वयंसवेक अभियान दोस्रो सातामा प्रवेश गरेको अवसरमा आइतबार अध्यक्ष ओलीको यो अपिल आएको हो । ‘नेपाली योजना: अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानका क्रममा पहिलो हप्तामै एक हजारभन्दा बढी अस्थायी आवास बनाइएको अपिलमा उल्लेख छ ।

अध्यक्ष ओलीबाट जारी अपिल जस्ताको तस्तैः

नेपाल कम्युनिस्ट पार्टी
(एकीकृत माक्र्सवादी–लेनिनवादी)
केन्द्रीय कार्यालय
मदननगर, बल्खु, काठमाडौं
१७ जेठ २०७२

स्वयंसेवक अभियानमा सहभागी हुन हार्दिक अपिल

‘नेपाली योजना : अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ नेकपा
(एमाले)द्वारा सुरु गरिएको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान दोस्रो हप्तामा प्रवेश गरेको छ । भूकम्प पीडितहरुलाई सघाउन गाउँ–गाउँमा खटिएका हजारौं स्वयंसेवकद्वारा पहिलो हप्तामै एक हजारभन्दा बढी अस्थायी आवास बनाइएका छन् । दुई हजारभन्दा बढी क्षतिग्रस्त घरबाट सामग्री निकालेर व्यवस्थापन गरिएको छ । सयौं विद्यालय र कक्षा कोठाहरु निर्माण गरिएका छन् । कैयौं पुरातात्विक, सांंस्कृतिक धरोहरहरुमा सरसफाई अभियान सञ्चालन गरिएको छ । यसअघि युवा–विद्यार्थीहरुले सुरु गरेको स्वयंसेवी अभियानका क्रममा समेत सयौं अस्थायी आवास र विद्यालयहरु निर्माण भइसकेका छन् ।

पहाडको पीडा कम गर्न तराई–मधेसवासीहरुको उपस्थिति, काठमाडौंलाई साथ दिन कर्णाली निवासीहरुको क्रियाशीलता र स्वदेशको घाउमा मल्हम लगाउन घर फर्केका प्रवासी नेपालीहरूको समर्पण अनि सङ्कटको घडीमा देखिएको आपसी सहकार्यले राष्ट्रिय एकताको भावनालाई निकै बलियो बनाएको छ ।

यो अभियान भूकम्पको अथाह पीडा भोगिरहेका दाजुभाइ दिदी बहिनीहरुको पीडा कम गर्ने मानवीय अभियान हो । यस अभियानमार्फत् हामी पीडितहरुलाई संकटको यस घडीमा ‘तपाईंहरु एक्लै हुनुहुन्न’ भन्ने सन्देश प्रवाह गर्न चाहन्छौं । एकताबद्ध भएर काममा समर्पित हुने हो भने भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउन चाहन्छौं । संकटको घडीमा एक–अर्कालाई सहयोग गर्ने नेपाली चरित्रलाई सुदृढ गर्न चाहन्छौं । र, आफ्नै खुट्टामा उभिएर, आफ्नै साधन–स्रोत र श्रमबाट राष्ट्रको पुन:निर्माण सम्भव छ भन्ने राष्ट्रिय भाव निर्माण गर्न चाहन्छौं । अर्काको दु:खलाई आफ्नै दु:ख ठान्ने, मानवीय सेवामा समर्पित हुन पाउँदा गौरवबोध गर्ने र श्रमको सम्मान गर्ने संस्कृतिलाई प्रवद्र्धन गर्न चाहन्छौं ।

अनेकौं अभाव, दु:ख र चुनौतीका बीचमा पनि यो अभियानमा समर्पित हुने सबै स्वयंसेवकहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । वर्षायाम सुरु हुनुअगावै प्रत्येक भूकम्पपीडित नागरिकहरु सुरक्षित अस्थायी आवासभित्र पुग्न सक्नुहोस् र हरेक नानीहरुले विद्यालय जाने वातावरण पाउन सकून् भन्ने हिसाबले थप सक्रियता, कुशलता र सजगताका साथ काममा लाग्न स्वयंसेवकहरुलाई आह्वान गर्दछु । तपाईंहरुको यस सेवाको राज्य, समाज, आम जनता र पार्टीबाट उच्च मूल्यांकन हुनेछ । पुन:निर्माणको यस महान अभियानमा औपचारिक निर्देशन वा निर्णयको प्रतीक्षा नगरीकन आ–आफ्नो ठाउँबाट सहभागी हुन पार्टीका सबै नेता–कार्यकर्ता तथा सभासद्हरु, पूर्व मन्त्री, स्थानीय निकायका पूर्व जनप्रतिनिधिहरु, बुद्धिजीवी र विशेषज्ञहरु एवं सबै नागरिकहरूमा हार्दिक अपिल गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष तथा संसदीय दलका नेता
नेकपा (एमाले)