६ कार्तिक २०८३, शुक्रबार

‘राष्ट्रिय सहमतिको सरकार गठनको औँचित्य छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekhakकाठमाडौँ, १५ जेठ । विभिन्न राजनीतिक दलका नेताहरुले गन्तव्य प्रष्ट नभई सहमतिको सरकार गठनको औँचित्य नहुने धारणा राखेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले गन्तव्य प्रष्ट नभई राष्ट्रिय सहमतिको सरकारको वहस निरर्थक हुने बताउनुभयो ।

उहाँले संविधान कहिलेसम्म जारी गर्ने, भुकम्पबाट सिर्जित विपत्तिको सामना गर्न संसद्ले पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्ने आधारभुत एजेण्डा र स्थानीय निकायको निर्वाचन कहिलेसम्म गर्ने भन्ने विषयमा साझा दृष्टिकोण तयार गरेपछि मात्र सहमतिको सरकार बनाउँदा उचित हुनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले भुकम्पको विपत्तिपछि देखिएको अभूतपूर्व राष्ट्रिय एकताले मुलुकलाई एकताबद्ध बनाउने माध्यम राष्ट्रिय सहमतिको सरकार भएपनि पहिला सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न साझा योजना बनाउनु आवश्यक रहेको छ भन्नु भयो ।

उहाँले अहिले सहमतिको सरकारसँगै विपत्तिको व्यवस्थापन, स्थानीय निकायको निर्वाचन र संविधान निर्माणको योजना बनाउनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले सहमतिको सरकारमा आफ्नो पार्टीको नेतृत्व वा मन्त्री पदमा कुनै दाबी नरहेको भन्दै आफूहरुलाई सुशील कोइराला र केपी ओलीमध्ये कसैको पनि नेतृत्व अस्विकार्य नभएको बताउनुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले अहिलेको प्राथमिक एजेण्डा राष्ट्रिय सहमतिको सरकार नभई संविधान निर्माण र विपत् व्यवस्थापन रहेको धारणा राख्नु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले बास खोजेको बेला राजनीतिक दलहरु सरकारको खेतीतर्फ लाग्दा जनताको आवश्यकता ओझेलमा पर्ने भन्दै अहिले राष्ट्रिय सरकारको आवश्यकता नभएको बताउनुभयो । रासस