काठमाडौँ, १५ जेठ । महिला कानुन र विकास मञ्च नेपालले भूकम्प प्रभावित जिल्लामा कानुनी सहयोग कक्ष स्थापना गर्ने भएको छ ।
महिला र महिलाको मानव अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आइरहेको मञ्चले आज आयोजना गरेको २०औँ वार्षिकोत्सवका अवसरमा मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले भूकम्पबाट क्षति पुगेका १४ जिल्लामा कानुनी सहयोग कक्ष राख्न लागिएको जानकारी दिनुभयो ।
सहयोग कक्ष रहने जिल्लामा रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर र ओखलढुङ्गा छन् । उहाँले भन्नुभयो – “यी कक्षबाट भूकम्पपीडितले राज्यबाट पाउने कुनै पनि किसिमको राहत लिनुपर्दा आवश्यक कानुनी सहयोग लिन सक्नेछन् ।”
मञ्चका संस्थापक सदस्य सपना मल्लले नवलपरासीको देउचुली र काठमाडौँको बुङ्मतीमा रहेको विद्यालय संस्थाले बनाइदिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “संस्थाको रकमबाट विद्यालय र विद्यालयको शौचालय निर्माण तथा विपन्न विद्यार्थीलाई पुस्तकालय सामग्री निःशुल्क गर्ने निर्णय गरेका छौँ ।”
मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको रु २५ हजार राशिको ‘लक्ष्मण अर्याल स्मृति पत्रकारिता पुरस्कार’मा रु एक लाख थप गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिनुभयो । मञ्चले भूकम्पमा परी निधन भएका कानुन व्यवसायी रविराज भण्डारीकी छोरी रञ्जितालाई छात्रवृत्तिका लागि रु एक लाख हस्तान्तरण गरेको छ । रासस















प्रतिक्रिया