६ कार्तिक २०८३, शुक्रबार

मृतकका परिवार तथा आफन्तद्वारा यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १५ जेठ । यहाँ बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले आज बिहानैदेखि यातायात सेवा ठप्प पारेका छन् ।

चालक र सहचालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले विभिन्न माग राख्दै जिल्ला बाहिरिने र जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधन सञ्चालनमा रोक लगाएका हुन् । जिल्लाभित्र र बाहिरका कुनै पनि सवारी साधन नचलेपछि यात्रु भने मर्कामा परेका छन् । चालक र सहचालकलाई कडा कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्नेलगायत माग राख्दै मृतकका आफन्त शवसमेत नबुझेर आन्दोलित भएका हुन् ।

राजनीतिक दल, पीडित पक्ष र यातायात व्यवसायीबीच अहिले जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको छ । माग पूरा नभएसम्म यातायात सञ्चालन हुन नदिने र शव पनि नबुझ्ने मृतक दलबहादुरका आफन्त सुन्दरकुमार वलीले बताउनुभयो । बिहीबार पनि जलजला यातायात समिति र पीडित पक्षबीच वार्ता भएको तर वार्ता बिनानिष्कर्ष टुङ्गिएकाले आज बिहानैदेखि यातायात सञ्चालनमा रोक लगाई बिहानैदेखि वार्ता सुरु भएको हो ।

बिहीबार दिउँसो सदरमुकामबाट घर्तीगाउँका लागि छुटेको लु१ज १३९२ नंकोे जिप जिल्लाको कोटगाउँ– १ माडिचौरस्थित नर्सरी भन्ने ठाउँमा सडकबाट करिब ५५ मि तल खस्दा जिपमा सवार इरिवाङ– ७ सर्पलोटेका ४२ वर्षीय दलबहादुर डाँगी र इरिवाङ– ८ की २६ वर्षीया विष्णु वादीको ज्यान गएको थियो ।

डाँगी बालशिक्षा निमावि थुनिकोट इरिबाङका प्रअ हुनुहुन्थ्यो । यस्तै दुर्घटनामा गम्भीर घाइते १९ वर्षीय सहचालक सन्तोष बुढासहित छ जनालाई जिल्ला बाहिर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ । रासस