पोखरा, १४ जेठ । गत वैशाख १२ गते गएको भूकम्पबाट गोर्खामा भत्किएका भौतिक संरचनाको पुनःनिर्माणमा नेकपा (एमाले)को स्वयम्सेवी टोली जुटेको छ ।
गत मङ्गलबार नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीको नेतृत्वमा पोखराबाट गोर्खा प्रस्थान गरेको टोली विभिन्न गाउँमा पुगेर घर, विद्यालय, स्वास्थ्य चौकीको पूर्ननिर्माणमा जुटेको हो ।
दुई सय जनाको स्वयमसेवी टोली गोर्खाका पालुङटार, नारेश्वर, केराबारी, आरु र आरवाङलगायतका ठाउँमा भूकम्पले क्षति पु¥याएको भौतिक संरचना निर्माणमा खटिएको एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भूकम्पबाट क्षति पुगेको गोर्खा र कास्कीका सात विद्यालयमा ४२ वटा अस्थायी कक्षा कोठा निर्माण गरेको छ ।
अनेरास्ववियूका केन्द्रीय कोषाध्यक्ष रश्मी आचार्यको नेतृत्वको टोलीले गोर्खाका पाँच र कास्कीका दुई विद्यालयमा अस्थायी कक्षा कोठा निर्माण गरेको हो ।
अस्थायी कक्षा कोठा निर्माणमा, अनेरास्ववियुको केन्द्रीय निर्णयअनुसार आचार्यको नेतृत्वमा कास्की, स्याङजा, गोरखा र तनहुँका युनियनका नेता र कार्यकर्ता साथमा स्थानीय जनसमुदायले स्वयमसेवा गरेको अनेरास्ववियूको केन्द्रीय सदस्य हरिबोल गौतम जानकारी दिनुभयो । रासस















प्रतिक्रिया