५ कार्तिक २०८३, बिहिबार

सडक अतिक्रमण गरेर बनाएका घर भत्काउन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-atikramanनेपालगन्ज, १३ जेठ । नेपालगन्जमा सडक अतिक्रमण गरेर बनाइएका घरलगायतका संरचना हटाउन अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरिएको छ ।

सडक विस्तार, ढल तथा नाली निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले अतिक्रमित घर, पर्खाललगायतका संरचना भत्काउने कार्यलाई आजदेखि तीव्रता दिएको हो ।

‘नेपालगन्जलाई डुबानबाट जोगाउन पानीको सहज निकासका लागि सडक र सतही नाला निर्माणमा देखिएका अवरोध हटाउन थालिएको हो’—नगर प्रमुख विष्णु भुसालले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित एकीकृत सहरी विकास आयोजनामार्फत सतही ढल, सडक मर्मत र सुधारको काम हुँदैछ ।

सो नगरपालिका र सिटिसी–कालिका कन्सट्रक्सनबीचको सम्झौताअनुसार आठ किलोमिटर लामो कालोपत्रे सडक र ६० किलोमिटर लामो सतह नाला निर्माण, सुधार एवम् निकासाको काम अहिले भइरहेको छ ।

नगरपालिकाले आज नेपालगन्ज–१२ बुलबुलिया चोकदेखि दक्षिण पश्चिम शान्तिनगर, बाँके गाउँ हुँदै चारबाहिनी चोकसम्म जाने बाटो किनारको ढल तथा नाला निकासका लागि अवरोध सिर्जना गरिँदै आइएका पर्खाल र घर डोजर लगाएर भत्काएको छ ।

शान्तिनगरस्थित सडक मिचेर बनाइएको नेगबहादुर भण्डारीको घरको अगाडिको भागसहित चार जनाको पर्खाल भत्काइएको हो । दश मिटर चौडा बाटो निर्माणका लागि उत्तर दक्षिण पश्चिमतर्फ पक्की नालीसमेत बनाई सकिएको स्थितिमा भण्डारीलगायत केहीले निरन्तर अवरोध गरिरहेपछि आज प्रहरीसमेतको उपस्थितिमा घर, पर्खालमा डोजर लगाइएको हो ।

अतिक्रमित घर, पर्खाल भत्काउन लिखित, मौखिक गरी पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि बाध्य भएर डोजर प्रयोग गरिएको नगर प्रमुख विष्णु भुसालले बताउनुभयो ।

“यदि अतिक्रमित संरचना नहटाइदा सडक, नाला बनाउन सकिने स्थिति छैन भने वर्षामा सो क्षेत्र नै डुबान हुने प्रवल सम्भावना रहन्थ्यो” उहाँको भनाइ छ ।

यसैगरी, नगरका अन्य स्थानमा पनि सडक अतिक्रमण गरेर बनाइएका घरलगायतका सम्पूर्ण संरचना स्वयम् भत्काउन आग्रह गरिरहेको र यदि आज बुधबारसम्म नभत्काइएमा प्रहरीको सहयोगमा डोजर प्रयोग गरेर भत्काइने जनाइएको छ ।

उपमहानगरपालिकाले मापदण्डविपरीत एवम् सडक अतिक्रमण गरेर बनेका पर्खाल, घरलगायत सम्पूर्ण संरचना हटाउन केही महिनाअघि नै सार्वजनिक सूचना जारी गरी चिह्न लगाएको र हटाउन पनि आह्वान गरेको थियो । रासस