
– गणेश गिरी
पर्वत, १३ जेठ । भूकम्पका कारण विद्यालयको भवन ध्वस्त भएपछि नेपाली सेनाले विद्यालयको अस्थायी टहरा निर्माण गरिदिएको छ ।
सेनाले टहरा निर्माण गरिदिएपछि पर्वतको तुलोदय मावि तिलाहारमा पढाई सुचारु भएको छ । भूकम्पका कारण विद्यालयका १५ वटा कोठामा क्षति पुगेको थियो । भुकम्पले कक्षाकोठामा क्षति पुर्याएपछि विद्यालयका अध्यापन बन्द भएको थियो ।
विद्यालयको अध्ययापनलाई सुचारु गराउनका लागि पर्वतको कुश्मामा रहेको रणदल गुल्मको ३१ जनाको टोलीले झण्डै एक हप्ताको प्रयास पछि विद्यालय प्राङगणमा टहरा निर्माण गरीदिएको थियो । विद्यालयमा टहरा निर्माण गरेसंगै विद्यालयका अध्यापन सुुरु भएको तुलोदय माविका प्रधानाध्यापक सुरेश कुमार पौडेलले बताए । पौडेलका अनुसार नेपाली सेनाले दिन रात नभनी टहरा निर्माण कार्यमा जुटेको थियो । नेपाली सनाको क्याप्टेन निराकर युद्ध खाँणको नेतृत्वमा रहेको टोली टहरा निर्माण गरेको हो । टहरा निर्माण भएसंगै अध्यायपन थप सहजता भएको छ ।

बर्षायामको सुरुवात हुन लाग्दा भवनहरु भत्किदाँ अध्ययापनमा जटिलता देखिएको थियो । नेपाली सेनाको प्रयासमा निर्माण भएका टहराहरुमा अहिले विद्यार्थीहरु बसेर अध्यायपन गरिरहेको प्रअ पौडेलले जानकारी दिए । पौडेलका अनुसार थप टहराहरु निर्माण गर्ने र भत्किएका संरचनाको पुनर्निर्माण गर्ने अभियान छिटै सञ्चालन गरिने छ । रणदल गुल्मका गुल्मपति उज्वल केसीका अनुसार नेपाली सेनाले पर्वतको अन्य विद्यालयहरुको पुनर्निर्माण तथा अस्थायी टहरा निर्माणमा समेत सहयोग गर्ने योजना बनाएको छ । केसी भन्छन–‘ब्यक्तिका घरहरुको निर्माण भन्दा सामूहिक सरचनाको निर्माणमा हाम्रो प्राथमिकता छ ।’
नेपाली सेनाले भूकम्प गए लगतै जिल्लाका विभिन्न गाउँमा पुगेर भत्किएका संरचनाहरु भित्रबाट घरयासी समाग्रीहरु निकाल्ने देखि स्थानीयबासीलाई सुरक्षित स्थानको प्रबन्ध यस अघि नै गरीसकेको थियो । सेनाले गाउँ गाउँ पुगेर जोखिमपूर्ण संरचनाहरु भत्काउने काम समेत गरीसकेको छ ।
यसैबीच सेनाको एक टोली सोमबार देखि पर्वतको रानीपानी, बर्राचौर क्षेत्रमा पुगेको छ । त्यहाँ रहेका विद्यालयहरुमा पनि भूकम्पले क्षति गरेको छ । उक्त क्षेत्रका विद्यालयहरुको पुनर्निर्माण र अस्थायी टहरा निर्माणमा समेत सेनाले सहयोग गर्ने गुल्मपति केसीले जानकारी दिए ।

















प्रतिक्रिया