५ कार्तिक २०८३, बिहिबार

एभिन्यूज टेलिभिजन बन्द भएको छैन् : सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

atvकाठमाडौँ, १३ जेठ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको प्रसारण अनुमति (इजाजत पत्र) को नवीकरणसम्बन्धी कार्य प्रक्रियामै रहेको जनाएको छ ।

सो टेलिभिजनको प्रसारण अनुमति रद्द गरिएको भनी टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टिबिएन) को चासो सार्वजनिक भएको सन्दर्भमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता पुरुषोत्तम तिवारीले हाल अनुमति नवीकरणका सम्बन्धमा ठोस निर्णय भइनसकेको राससलाई बताउनुभयो । उहाँले सो टेलिभिजनले नवीकरणका लागि पेस गरेका कागजातमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

हरेक टेलिभिजन र रेडियोले प्रत्येक आर्थिक वर्षमा तोकिएको शुल्क तिरी नवीकरण गर्नुपर्ने व्यवस्था छ । विलम्ब भएमा जरिवानासहित हरेक पुस मसान्तसम्ममा नवीकरण गराइने व्यवस्था छ ।

टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले आफूले गत पुस मसान्तमा नवीकरण शुल्कको चेक दिएको तर मन्त्रालयका कर्मचारीले नगदमा जम्मा गर्न आग्रह गर्नुभएको दाबी गर्दै प्राविधिक विषयका आधारमा सञ्चार माध्यमको नवीकरण रोक्नु नहुने बताउनुभयो ।

सो टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक ऐनअनुसारको सेवा, सुविधा नपाएको गुनासो पनि गर्दै आएका छन् ।

मन्त्री रिजालको चासो

यसैबीच, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो टेलिभिजनको सञ्चालन अनुमतिका सम्बन्धमा आफू गम्भीर रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको नेतृत्वमा गएको टोलीले मन्त्री रिजाललाई सो सम्बन्धमा ध्यानाकर्षण गराएपछि उहाँले यसबारे आवश्यक निर्णयमा पुगिने बताउनुभएको हो ।

उहाँले मन्त्रालयका निमित्त सचिव कविराज खनाललाई निर्देशन दिई सो सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिनुभएको महासचिव सिवाकोटीले जानकारी दिनुभयो ।

युनियनको ध्यानाकर्षण

युनियनले बिना कुनै रोकतोक सञ्चार संस्था सञ्चालन हुन पाउने अधिकारको सम्मान गर्न, स्वतन्त्रतापूर्वक सञ्चार संस्था सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न र राज्यको कानुनी दायरामा सबैलाई अटाउन ध्यानाकर्षण गराएको थियो ।

टेलिभिजनको लाइसेन्स खारेजीले सञ्चार उद्योगका लगानीसँगै सञ्चारकर्मीको रोजीरोटीको सवाल पनि जोडिने भएकाले सञ्चार उद्योग र सञ्चारकर्मी दुवैको रक्षाका लागि समुचित निर्णय लिन आग्रह गर्दै युनियनले एभिन्युज टेलिभिजनका कार्यरत सञ्चारकर्मी, प्राविधिक तथा कर्मचारीले विगत लामो समयदेखि बिना तलब काम गर्न बाध्य भएको जानकारी आएको पनि अवगत गराएको छ । रासस