नुवाकोट, १३ जेठ । स्पेन र अमेरिकीको सहयोगमा विकट र भूकम्प प्रभावित दाङसिङवासीलाई आवासका लागि जस्तापाता उपलब्ध गराएको छ ।
सो सहयोग काठमाडौँको धापासीस्थित सद्भावना बस्ती टोल सुधार समितिमार्फत शनिबार विदुरमा आयोजित कार्यक्रमबीच दाङसिङ गाविसका ५६ घरधुरीलाई प्रजिअ कोशहरि निरौलाले हस्तान्तरण गर्नुभयो । प्रतिघरधुरीलाई एक एक बन्डल जस्तापाता दिइएको हो । स्पेनी नागरिक क्रिस्टिनासहित विभिन्न व्यक्तिको सहयोगमा समितिले करिब रु पाँच लाखबराबरको सामग्री हस्तान्तरण गरेको हो ।
प्रजिअ निरौलाले सरकारले सबै पीडितलाई राहत वितरण गर्न नसकेको अवस्थामा देशविदेशबाट सहयोग क्रम आउनाले स्थानीय बासिन्दामा उत्साह थपेको बताउनुभयो । उहाँले राहत वितरणलाई प्रभावकारी बनाउने प्रयास भइरहेको र यसमा सघाउन राजनीतिक दलललगात सबै पक्षलाई आग्रह गर्नुभयो । आफूहरुले हालसम्म जस्तापाता कसरी जुटाउने चिन्ता गरिरहेका बेला समितिको सहयोगले उल्लेखनीय भएको दाङसिङ निवासी सीतराम अधिकारीले बताउनुभयो ।
कुल २८ घर सदस्य रहेको सो टोल सुधार समितिका सचिव आश्रयराज गौतमले वितरणअघि गाउँमा पुगेर पीडितको विवरण सङ्कलन गरी आवश्यकताका आधारमा सहयोग गरिएको बताउनुभयो । यसैगरी समितिको पहलमा तुप्चे गाविसमा ब्राजिलबाट आएका चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।


















प्रतिक्रिया