काठमाडौँ, १२ जेठ । एकीकृत उपभोक्ता सङ्घ सुविधानगरले भूकम्प गएको एक महिना पुगेको दिन पारेर टोल प्रवेशद्वारस्थित गणेश मन्दिरमा शान्तिको कामना गर्दै धर्ती पूजा गरेको छ ।
गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले समग्र मुलुक र टोलवासीलाई डरत्रास उत्पन्न गराइरहेकाले त्यसको अन्त्य होस् भन्ने उद्देश्यले पृथ्वी पूजाको आयोजना गरिएको सङ्घका अध्यक्ष शशिविक्रम राणाले जानकारी दिनुभयो ।
क्षमा पूजाका क्रममा चण्डी पाठ, वेद पाठ तथा हवनसमेत गरिएको थियो । सो पूजासँगै अब मुलुकमा यस्तोखालको विपद् कहिल्यै नदोहोरियोस् भनेर कामनासमेत गरिएको थियो ।
सो अवसरमा मुलुकमा भूकम्प परेर ज्यान गुमाउनेहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । पूजापछि टोलवासी सबैलाई प्रसाद वितरण गरिएको थियो ।
भूकम्प गएपछि उपभोक्ता सङ्घले टोलवासीलाई सुरक्षित बसोवासका लागि ठाउँठाउँमा टेन्ट र त्रिपालको समेत व्यवस्था गर्नुका साथै त्यस बेला हुन सक्ने चोरीका घटनालाई रोक्न सुरक्षाको प्रबन्धसमेत मिलाएको थियो । रासस















प्रतिक्रिया