काठमाडौँ, ११ जेठ । भूकम्पमा परी घाइते भई हातखुट्टा भाँचिएका बिरामीका लागि नेपाल दृष्टिविहीन सहयोग सङ्घले हड्डी जोड्ने औषधिसहितको प्याकेज आज एक संस्थालाई हस्तान्तरण गरेको छ ।
सङ्घले विभिन्न अस्पतालमा घाइते भएर रहेका बिरामीमध्ये आवश्यक परेकालाई अस्पताल प्रशासनको सिफारिसमा उक्त सामग्री उपलब्ध गराउने गरी नेपाल मेडिकल कलेज जोरपाटीअन्तर्गत रहेको एओ फाउन्डेसनलाई १०० थान सामग्री हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष ओमप्रकाश बन्जाडेले जोन्सन एन्ड जोन्सन कम्पनीसँग सम्झौता गरी उक्त मेडिकल सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । उक्त सामग्री विशेषगरी हातखुट्टामा अप्ठ्यारो गरी फुटेको ठाउँमा जोड्न प्रयोग गरिन्छ ।
उहाँले भन्नुभयो– ‘घाइते भएकै कारण कसैले पनि अपाङ्गता हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले हड्डी भाँचिएकाका लागि उक्त शल्यक्रिया सामग्री प्रदान गरिएको हो ।’
उक्त सामग्रीको मूल्य करिब रु १५ लाख रहेको छ । रासस















प्रतिक्रिया