५ कार्तिक २०८३, बिहिबार

राहत वितरणमा पक्षपात भएको भन्दै छानबिनको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prarena-tarai-rahat (2)भक्तपुर, ११ जेठ । नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले भूकम्पपीडितलाई बाँड्ने राहतमा पक्षपात भएको भन्दै छानबिनको माग गरेको छ ।

सङ्घका अध्यक्ष गोविन्द दुवालको नेतृत्वको टोलीले छानबिनको माग गर्दै आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरलाई ज्ञापनपत्र बुझाएको छ ।

गत वैशाख १२, १३ र २९ गतेको भूकम्प तथा पराकम्पनका कारण मानवीय तथा भौतिक क्षति पुगेका जनताको राहत र पुनःस्थापनाको कार्यमा ढिलाइ, पक्षपातपूर्ण वितरण र अनियमितता भएको भन्दै तत्काल यसको छानबिनको माग गरेको हो ।

विदेश, विभिन्न सङ्घसंस्था, व्यक्ति वा नेपाल सरकारका तर्फबाट आउने राहत प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने, क्षतिको विवरण र हालसम्मको वितरीत राहतको विवरण सार्वजनिक गर्नुपर्ने, स्थानीय निकायमा तयार गरेको क्षतिको विवरणको आधारमा पीडितलाई समानुपातिक रुपमा राहत वितरण गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी पीडित किसानलाई निःशुल्क बीउ, रासायनिक मल, कीटनाशक औषधि तथा कृषि औजार वितरण गर्नुपर्ने, पशुधनमा क्षति पुगेका किसानलाई राहत दिनुपर्ने, गुठी जग्गा र मोहियानी जग्गा धितो राखेर पनि ऋण लिन पाउने व्यवस्था गर्नुपर्नेसहितको सातबुँदे माग राखेको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आफूले राहत वितरणमा सक्दो ध्यान दिने र वितरीत राहतको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस