५ कार्तिक २०८३, बिहिबार

लाप्राकका भूकम्पपीडितले श्रम राज्यमन्त्रीलाई भने- ‘फर्कन हतार नगर्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha- photo1

– प्रशन्न पोखरेल

गोरखाबजार, ११ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि गोरखाको लाप्राकवासीको अवस्था बुझ्न पुग्नुभएका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई भूकम्पपीडितले आफूहरुलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

भूकम्प गएको एक महिना पुग्दासमेत राज्यका तर्फबाट पर्याप्त राहत सामग्री नपाएको गुनासो गर्दै लाप्राकवासीले दुःखको बेला सहयोग गर्न मन्त्री गुरुङलाई आग्रह गरेका हुन् ।

“आउनेबित्तिकै फर्कन हतार नगर्नुस् । हाम्रो समस्या बुझ्नुस् । हामीसँगै बस्नुस्’ लाप्राकका भूकम्पपीडित मार्सिङ गुरुङले भन्नुभयो, ‘नेताहरु आउनुहुन्छ । के छ भन्नुहुन्छ । फर्कनै हतार गर्नुहुन्छ ।’ वास्तविक भूकम्पपीडितको अवस्थाबारे गम्भीर भएर बुझ्न आग्रह गर्दै लाप्राकका भूकम्पपीडितले राज्यले तत्कालै राहतलगायतका सहयोग गर्नुपर्ने माग गरेका छन् । ‘भेडाबाख्रा जङ्गल छाड्यौँ’ उहाँले भन्नुभयो, ‘बालिनाली सबै सुक्यो । त्रिपालको बास छ । खानेकुरा केही छैन ।’ बूढाबूढी, बालबालिका र सुत्केरी महिलालाई त्रिपालमुनि बास बस्न समस्या भएको लाप्राकवासीले राज्यमन्त्री गुरुङसमक्ष पीडा पोखेका छन् ।

विनाशकारी भूकम्पले ५५० घरधुरी ध्वस्त भएपछि लाप्राकवासी गोप्सीडाँडामा बस्दै आएका छन् । गोप्सीडाँडा पनि चिराचिरा परेको छ । डाँडाको धरालत भासिएको छ । पहिरो गएको छ । ‘बास खोज्दै गोप्सीडाँडामा आयौँ’ पूर्व गाविस अध्यक्षसमेत रहनुभएका भूकम्पपीडित सन्तोष गुरुङले भन्नुभयो, ‘खानेपानीको समस्या छ । डाँडामा पानीको स्रोत छैन ।’

‘दुःख नै दुःख खेप्नुपरेको छ’ उहाँले भन्नुभयो, ‘पानी परेको बेला भल कटाउन र त्रिपाल समाएर बस्नुपर्छ ।’ गोप्सीडाँडामा त्रिपाल टाँगेर लाप्राकीहरु एकै ठाउँमा बसेका छन् । लाप्राक पनि झुरुप्प परेको नौवटै वडा एकै ठाउँमा भएको गाउँ थियो । ‘वृद्धवृद्धा, सुत्केरीलाई चिसोले सताएको छ’ गुरुङले भन्नुभयो, ‘हावा नलाग्ने ठाउँ खोजेर राखेका छौँ ।’

दिनहुँ पानी परेकाले जङ्गलबाट खोजेर ल्याएको दाउरा सल्काउन नपाएको उहाँले बताउनुभयो । ‘फुको चाउचाउ खाएर कतिञ्जेल दिनरात काट्ने ?’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले राम्रो पालको व्यवस्था गरिदिनुपर्छ ।’ ओत लाग्ने ठाउँसम्म पाए चिया पकाएर खाने भूकम्पपीडितको धोको छ । हावाहुरीले त्रिपाल च्यातिएर पानी पसेपछि जीवन कष्टकर भएको गुरुङले बताउनुभयो ।

सुगमका भन्दा दुर्गमका भूकम्पपीडितलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै गुरुङले ‘कुरा बुझ्ने तर, व्यवहारमा काम नगर्ने’ प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘कहाँ जाने, कहाँ बस्ने अन्योलको अवस्था छ’ उहाँ भन्नुहुन्छ, ‘पानीदेखि खानेकुरासम्मको अभाव छ । कसरी बाँच्ने ? परिवारलाई कसरी बचाउने ?’ वर्षाअघि नै गाडीले खाद्यान्न ढुवानी गर्नुपर्ने भन्दै भूकम्पपीडितले श्रम राज्यमन्त्री गुरुङलाई राहतको प्रबन्ध गरिदिन ‘मौखिक ज्ञापनपत्र’ पेस गरेका थिए ।

मन्त्री गुरुङले तत्कालै राहतको व्यवस्था गर्ने, अस्थायी बसोबासको प्रबन्ध मिलाउने र दीर्घकालीन रुपमा जीवन निर्वाहका लागि युवालाई वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउने बताउनुभयो । ‘म समस्या बुझन् लाप्राक आएको हुँ’ उहाँले भन्नुभयो, ‘समस्या सुन्ने मात्रै होइन, मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर तत्कालै समाधानको प्रयास गर्नेछु ।’

लाप्राकवासीले प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, श्रमराज्य मन्त्री टेकबहादुर गुरुङ, काँग्रेस संसदीय दल प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलगायतसँग दुःख पीडाबारे जानकारी गराइसकेका छन् ।

‘लाप्राकवासीको दुःख पीडा देखेर नेताहरु फर्कनुहुन्छ । तर, गाउँलेले केही पाउँदैनन्’ भूकम्पपीडित पुष्पा गुरुङले भन्नुभयो, ‘धेरै काम गर्ने थोरै बोल्ने मान्छे चाहिएको छ ।’ प्रतिबद्धता र आश्वासन धेरैपटक सुनेको बताउँदै उहाँले कुरा गर्न छाडेर काम गर्न नेतालाई आग्रह गर्नुभएको छ ।

‘खान लगाउनकै समस्या भयो’ उहाँले भन्नुभयो, ‘घर ध्वस्त भयो । बारीमा केही अन्न छैन । आएको राहतले पुग्दैन । जङ्गलमा पनि केही भेटेनौँ ।’ अस्थायी रुपमा बस्न पनि गोप्सीडाँडामा समस्या भएको उहाँको भनाइ छ । सञ्चारसम्पर्क, विद्युत्विहीन अवस्थामा बस्नुपरेको भन्दै उहाँले भूकम्पपीडितलाई राज्यले सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको छ । रासस