५ कार्तिक २०८३, बिहिबार

भूकम्पको केन्द्रविन्दु बारपाक देखि लाप्राकसम्म सबै सडक खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadakगोरखाबजार, ११ जेठ । मुसलधारे पानी परेपछि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालन भएको छ । आइतबार रातिदेखि अबरुद्ध भएको सडक सोमबार बिहान सञ्चालन गरिएको हो ।

विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको नेपाली सेनाको टोलीले अवरुद्ध सडक सञ्चालन गरेको हो । करिब २० किलोमिटर दूरीको उक्त सडकखण्डमा साना–ठूला गरी सयभन्दा धेरै पहिरो गएपछि सडक अवरुद्ध थियो ।

सडक अबरुद्ध भएपछि भूकम्पपीडितका लागि सदरमुकामदेखि बारपाक हुँदै लाप्राक लगिएको राहत सामग्री बोकेका ट्र्याक्टर बाटोमा फसेको थियो । फसेका सातवटा ट्र्याक्टर लाप्राकतर्फ गएको छ ।

त्यस्तै, लाप्राकको गोप्सीडाँडा–गुम्दा सडकखण्ड पनि अवरुद्ध भएको थियो । पहिरोले गर्दा अबरुद्ध सडक स्थानीयवासीले खुलाएका छन् । एक साताअघि मात्रै बारपाक–लाप्राक हुँदै गुम्दासम्म सडक सञ्चालन गरिएको थियो ।

एकतर्फी ट्र्याक मात्रै खुलाइएको उक्त सडकखण्डमा दिनहुँजसो बर्सात हुन्छ । भूकम्पले गर्दा डाँडा चिराचिरा परेको र त्यही चिराभित्र पानीको भेल पसेपछि पहिरो जाने गरेको लाप्राकका धनबहादुर गुरुङले बताउनुभयो ।

बारपाकदेखि लाप्राकसम्म पुग्न गाडीलाई दुई घन्टाभन्दा बढी समय लाग्छ । भिरालो र उकालो बाटोमा अर्को गाडीलाई साइड दिन समस्या हुन्छ । सडकखण्डमा ठूला पहिरो झरेकाले आवतजावतमा समस्या हुने गरेको लाप्राकीहरुले गुनासो गरेका छन् । रासस