म्याग्दी, १० जेठ । राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले कालीगण्डकी नदी थुनिएपछि गृहमन्त्री बामदेव गौतमले आज हेलिकप्टरमार्फत सो क्षेत्रको अवलोकन गर्नुभयो ।
पहिरो गइरहेको ठाउँनजिक निकै धुलो उडेको र प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री गौतम सदरमुकाममा ओर्लिएर प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हीरा गिरीसँग पहिरोको अवस्था र थुनिएको कालीगण्डकी बारेमा जानकारी लिनुभयो ।
बेनीमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले निरन्तर झरेको पहिरो नरोकिएसम्म नदी थुनिएर बनेको बाँध खुलाउने काम अघि बढ्न नसक्ने बताउनुभयो ।
नदी किनारको बस्तीलाई सुरक्षित स्थानमा सार्नु नै अहिलेको आवश्यकता रहेको बताउँदै गृहमन्त्री गौतमले पहिरो झर्ने क्रम रोकिनेबित्तिकै बाँध खुलाउन प्राविधिक टोली परिचालित हुने जानकारी दिनुभयो ।
गए राति १ बजेदेखि निरन्तर खसिरहेको पहिरोबाट बैसरीमा कालीगण्डकी नदी थुनिएको छ भने बैसेरीका २६ घर पुरिएका छन् । रासस















प्रतिक्रिया