– दीपक ओली
धनगढी, ८ जेठ । नेपाल बालसंगठन कैलालीले चालु शैक्षिक सत्र २०७२ मा ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराएको छ । यहाँका चार ओटा गाविस र एक नगरपालिकाका गरी २५ ओटा सामुदायिक विद्यालयका ५० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराएको हो ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु पढाईबाट बञ्चित नहुन् भनेर पठनपाठनका लागि वर्षभरि आवश्यक पर्ने एक कक्षादेखि आठ कक्षासम्मका विद्यार्थीलाइ ड्रेस लगायत शैक्षिक सामग्री दिएर सहयोग गरेको बालसंगठनले जनाएको छ ।
बालसंगठनले आर्थिक अवस्था कमजोर भएका ५० जना छात्रछात्रालाई छनौट गरी ‘बालबालिकाका लागि शिक्षा’ कार्यक्रम मार्फत छात्रबृत्ति उपलब्ध गराएको नेपाल बालसंगठन कैलालीका सचिव हरि रेग्मीले बताए ।
बालसंगठनले गरिब तथा जेहेन्दार बालबालिकालाई छाबृत्ति दिएर राम्रो काम गरेको कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले बताए । उनले छात्रबृतिले विद्यार्थीको पढाईमा हौसला बढ्नुका साथै थप जिम्मेवार बन्ने बताए ।
सचिव रेग्मीले सरकारी विद्यालयमा शिक्षण शुल्क नलाग्ने तथा पाठ्पुस्तक निःशुल्क पाईने भएकाले अन्य शैक्षिक सामग्री बालसंगठनले सहयोग गरेको बताए । बाल संगठनले धनगढी बजारमा रहेका सटर तथा घरको भाडाबाट उठेको रकमबाट छात्रबृति उपलब्ध गराएको हो, सचिव रेग्मीले भने ।
संगठनले यसवर्ष सहजपुर, निगाली, खैराला, गोदावारी गाविस र धनगढी नगरपालिकाका १०/१० जना गरी ५० जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिएको छ । सचिव रेग्मीका अनुसार ति गाविस र नगरपालिकाका पाँच ओटा विद्यालयमा एक छात्र र एक छात्रा गरी १० विद्यार्थी छनौट गरिएको छ ।
छात्रबृत्तिका लागि छनौटमा परेका प्रत्येक विद्यार्थीलाई झोला, एक दर्जन कापी, एक दर्जन पेन, एक औजार बक्स, स्कुल डे«सको कपडा र सात सय रुपैयाँ नगद गरी पाँच हजार बराबरको सहयोग गरेको नेपाल बालसंगठन कैलालीले जनाएको छ ।
छात्रबृत्ति दिँदा सम्बन्धित विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघले छनौट गरेका विद्यार्थीलाई दिने प्रावधान रहेको सचिव रेग्मीको भनाई छ ।
















प्रतिक्रिया