– रबिना बोहरा
बागलुङ, ७ जेठ । बागलुङ नगरपालिका कार्यालय बागलुङले दिने सेवा एवं कार्यशैलीका बिषयमा सेवाग्राहीहरुले आक्रोस पोखेका छन् ।
नगरपालिका कार्यालयका जिम्मेवार कर्मचारीहरु आफ्नो कार्यालय समयावधि सम्म पनि नबस्ने भन्दै सेवाग्राहीहरु मर्कामा परेको बताएका हुन् । बानपा–१ रामरेखाका ३ वटा भिन्दाभिन्दै बाटोहरुको ढलान तथा नाली निर्माण उपभोक्ता समिति रामरेखाका अध्यक्ष बद्रीप्रसाद शर्माले नगरपालिका अधिकृतले बाटो सम्झौता गर्नका लागी कार्यालय समयमा आफुलाई बोलाएर गएको भन्दै ४ बजे नै नगरपालिका अधिकृत कार्यालयमा नभएको बताउनुभयो ।
उहाँले कार्यालय प्रमुख लगायत जिम्मेवार कर्मचारीहरु समेत कार्यालय समय नहुँदै कार्यालयबाट निस्केको बताउनुभयो । कार्यालय प्रमुखको लापरबाहीको कारण नै बागलुङ नगरपालिका कार्यालय बागलुङमा जाने सेवाग्राहीहरु मर्कामा पर्दै आएको सेवाग्राहीको भनाई छ । दैनिकजसो सेवाग्राहीहरु कार्यालय प्रमुख नभएका कारण काम नभएर फर्किने गरेको बताउदै आएका थिए ।
सामान्य कर्मचारी भएतापनि जिम्मेवार कर्मचारीहरु कार्यालयमा नहुदा सेवा राम्रो संग प्रवाह हुन नसकेको हो । कार्यालय प्रमुख नै कार्यालय समय भन्दा अगाडी नै निस्केपछि अरु कर्मचारीहरु कसरी कार्यालय बस्छन् भन्ने सर्वसाधारणको गुनासो छ ।
यता नगरपालिका अधिकृतले जिल्ला विकास समितिको कार्यालयको बैठकमा गएको भन्दै आउनुभएको छ । कार्यालय प्रमुखको भनाई प्रति सेवाग्राहीहरुले प्रमुख नभएता पनि सेवाको लागी अन्य कर्मचारीहरुलाई जिम्मेवारी दिनुपर्ने भन्दै तर त्यो जिम्मेवारी पुरा नगरेको बताएका छन् । यसरी बागलुङ नगरपालिका कार्यालय बागलुङले आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै सेवाग्राहीहरुले दुःख व्यक्त गरेका छन् ।
















प्रतिक्रिया