५ कार्तिक २०८३, बिहिबार

गोरखाका बाइस गाउँका दुईहजार ३१४ घर अन्यत्र सार्न प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (1)

गोरखाबजार, ६ जेठ । जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले १२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक आसपासका विभिन्न २२ गाउँलाई बर्खाअघि नै अन्यत्र सार्न प्रस्ताव गरेको छ । ती गाउँका दुई हजार ३१४ घर अन्यत्र सार्नुपर्ने देखिएको छ ।

पहिरोको उच्च जोखिममा रहेका २२ वटा गाउँलाई तत्काल अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको जानकारी समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनाले दिनुभयो ।

बारपाक गाविस–२ मान्द्रेको कुँजेका १०० घरलाई अन्यत्रै स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, लाप्राकका ६१५ घर, गुम्दा गाविसको सिङ्लाका २००, लप्सीबोटका १०० र यमगाउँका ४३ घरधुरी, लापु गाविसको ठाँटीका २०, भीरकुनाका १२५, पैटुका २० र खानीगाउँका ८० घरधुरीलाई पनि अन्यत्रै सार्न केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई अनुरोध गरिएको छ ।

मान्बु गाविसको धोरतका ५५ र श्यामचेत गाउँका १५० घर, सिर्दिवास गाविसको सानो फिलिमका २०, देबलका १५ घर, सिम्जुङ गाविसको पात्लेगाउँका ३० घर, सौरपानी गाविसको शिम्भु गाउँका १४५ घरधुरीलाई पनि वर्षा सुरु हुनुअघि नै अन्यत्रै सार्न माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनुभयो ।

बारपाकसँगै जोडिएको घ्याच्चोक गाविसको धनसिराका १०५, मिलिमका ६०, चिसाङका १५, बाँसकोटका ३६ घरधुरी र उहिया गाविसको खोर्लागाउँका १०० घरधुरीलाई अन्यत्र सार्ने प्रस्ताव गरिएको सहायक प्रजिअ दीपेन्द्र पौडेलको भनाइ छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले गत वैशाख १२ गतेको भूकम्प र लगातारको धक्काका कारण विस्थापित हुनसक्ने गाउँको जानकारी गराउन जिल्ला दैवीप्रकोप उद्धार समितिलाई पत्राचार गरेको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिले पूर्णरुपमा क्षति भएका ती गाउँको अनुगमन रिपोर्टको आधारमा गाउँनै सार्न अनुरोध गरी पठाएको जनाएको छ ।

सहायक प्रजिअ पौडेलका अनुसार बर्खाअघि नै ती गाउँलाई अन्यत्र सार्न नसकिए थप जनधनको क्षति हुनसक्छ । विनाशकारी भूकम्पपछि यी गाउँको धरातल चिराचिरा परेको छ र पानीका स्रोतहरु सुकेका छन् । रासस