काठमाडौंँ, ४ जेठ । एन्गुस मोरिसन इलिमेन्ट्री स्कुल क्यानडाको पहलमा भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त दक्षिणकाली नगरपालिका–६ स्थित शिखरापुर सामुदायिक विद्यालयकी छात्रा सजिना दुधाराजको घर निर्माण सुरु भएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पबाट उनको घर भग्नावशेषमा परिणत भएको छ । यसअघि सन् २०१५ मार्चमा एन्गुस स्कुल क्यानडा र शिखरापुर सामुदायिक विद्यालयबीच मैत्री सम्बन्ध स्थापना भएयता उक्त विद्यालयबाट शिखरापुर सामुदायिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माणमा सहयोग गरिएको थियो ।
नेपालमा भूकम्पका कारण आएको महाविपत्तिपछि क्यानडाको सो विद्यालयले सहयोग सङ्कलनका विविध कार्यक्रम गरेको समुदायका लागि विद्यालय अभियान फर्पिङका महासचिव निरोज श्रेष्ठले जानकारी गराउनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेको संयोजनमा उक्त विद्यालयले विविध सहयोग रकम शिखरापुर माविमार्फत खर्च गर्ने गरी भूकम्प प्रभावितलाई सहयोग गर्ने योजना अघि सारेको बताइएको छ । प्रशिक्षक दासानायकेका अनुसार शिखरापुर सामुदायिक विद्यालयका प्रतिनिधिबाट अन्य बसोबासको विकल्प नभएका तथा नयाँ बासस्थान बनाउन आर्थिक हैसियत गुुमाएका केही परिवारलाई छनोट गरी थप केही घर निर्माणका लागि एन्गुस स्कुल क्यानाडामा सहयोग सङ्कलन भइरहेको छ ।
भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको सल्लाहमा उपयुक्त स्थान र निर्माण सामग्री छनोट, तालिमप्राप्त कर्मीलाई परिचालनसमेत गरी राम्रो घर निर्माण गर्ने योजना गरिएको छ ।
पहिलो चरणमा निर्माण गर्न लागिएको घरमा तीन कोठा, स्नानकक्ष तथा भान्छासहित जस्ता र ट्रसको छाना हुने र उक्त घर सिमेन्ट ब्लकको निर्माण गरिने जनाइएको छ । न्यूनतम लागत रु तीन लाख ७५ हजार हुने बताइएको उक्त घर निर्माणका लागि एन्गुस स्कुलबाट दुई लाख र दासानायेकेबाट रु एक लाख सहयोग गरिने भएको छ । उक्त भवन यथाशक्य छिटो निर्माण गरी वर्षात्अघि नै परिवारलाई हस्तान्तरण गरिने छ । रासस















प्रतिक्रिया